गगन र विश्वप्रकाशसँग भेट भएको प्रचार असत्य : देउवाको सचिवालय
Prime TV News २ महिना अगाडि 
काठमाडौ । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्मासँग भेट गरेको भन्ने प्रचार गलत भएको देउवाको सचिवालयले जनाएको छ।
देउवाका स्वकीय सचिव भानु देउवाले आइतबार सूचना जारी गर्दै विशेष महाधिवेशनपछि देउवाको गगन थापा र विश्वप्रकाश शर्मासँग कुनै पनि भेटघाट नभएको स्पष्ट पारेका हुन्।
केही सञ्चारमाध्यममा देउवाले नयाँ नेतृत्वसँग भेट गरी सहमतिको संकेत दिएको समाचार आएपछि सचिवालयले औपचारिक खण्डन गरेको हो।
सूचनामा भनिएको छ, 'नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाज्यूसँग पूर्वमहामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले भेट गर्नु भएको भनेर समाचार आएको देखिएको छ। तर हालसालै उहाँहरूसँग सभापतिज्यूको कुनै भेटघाट भएको छैन।'
गएको पुस २७ देखि ३० सम्म काठमाडौंको भृकुटीमण्डपमा सम्पन्न कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको थियो। निर्वाचन आयोगले उक्त कार्यसमितिलाई गत शुक्रबार आधिकारिक पार्टीको मान्यता दिइसकेको छ।
तर देउवा पक्षले आयोगको निर्णय अस्वीकार गर्दै अदालत जाने निर्णय गरिसकेको छ। यसअघि पुस ३० गते देउवा पक्षीय कार्यवाहक सभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा बसेको बैठकले तत्कालीन दुवै महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मालाई पाँच वर्षका लागि पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको थियो।







