आयोगको मान्यतापछि कांग्रेस सभापति थापाद्वारा बैठक आह्वान, पार्टी एकतामा जोड
Prime TV News २ महिना अगाडि 
काठमाडौ । निर्वाचन आयोगले नेपाली कांग्रेसको आधिकारिकता गगनकुमार थापा नेतृत्वको कार्यसमितिलाई दिएपछि सभापति गगन थापाले पार्टीको बैठक बोलाएका छन्।
आयोगको निर्णयपछिको नयाँ राजनीतिक परिस्थितिमा पार्टीको आगामी दिशा तय गर्न बैठक आह्वान गरिएको हो। पार्टी प्रवक्ता देवराज चालिसेका अनुसार सभापति थापाले सबै पक्षलाई समेटेर अघि बढ्ने उद्देश्यसहित बैठक बोलाएका हुन्।
“तत्काल बैठक बस्दै छ। हामीले सय प्रतिशत कांग्रेस बनाउनुपर्छ। विशेष महाधिवेशन एउटा प्रक्रिया मात्र हो। उहाँहरू कांग्रेस होइनन् भन्ने कुरा होइन,” चालिसेले बताए।
उनका अनुसार विशेष महाधिवेशनको प्रक्रियाप्रति केही असन्तुष्टि भए पनि त्यसलाई संवादमार्फत समाधान गर्दै पार्टीलाई एकताबद्ध बनाएर लैजाने नीति लिइनेछ। “असन्तुष्टि आफ्नो ठाउँमा छ। तर सबैलाई समेटेर अघि बढ्नुपर्छ। यसले हामीलाई थप जिम्मेवारी दिएको छ,” उनले भने।
चालिसेले लोकतान्त्रिक पार्टीभित्र असहमति स्वाभाविक हुने उल्लेख गर्दै असन्तुष्ट समूहको योगदान अस्वीकार नगर्ने स्पष्ट पारे। “लोकतन्त्रमा मतभेद हुन्छ। तर उहाँहरूको योगदान शून्य होइन। सबैलाई समेटेर पूर्ण कांग्रेस बनाउने हाम्रो लक्ष्य हो,” उनको भनाइ छ।







