साफ महिला फुटसल च्याम्पियनसपमा नेपाल आज माल्दिभ्ससँग प्रतिस्पर्धा गर्दै
Prime TV News २ महिना अगाडि 
काठमाडौ । दक्षिण एसियाली फुटसल महासंघ (साफ) महिला फुटसल च्याम्पियनसप अन्तर्गत नेपालले आज माल्दिभ्ससँग खेल्दै छ। थाइल्यान्डको नोन्थबुरी रंगशालामा हुने खेल नेपाली समयअनुसार दिउँसो ३ः१५ बजे सुरु हुनेछ।
नेपाल प्रतियोगितामा पहिलो जितको लक्ष्यसहित मैदान उत्रनेछ। पहिलो खेलमा श्रीलंकासँग २–२ को बराबरी खेलेको नेपाल अंक तालिकामा सुधार गर्ने अवसरको खोजीमा छ। प्रशिक्षक र खेलाडीहरूले माल्दिभ्सविरुद्ध आक्रामक खेल प्रस्तुत गर्ने तयारी गरेको बताएका छन्।
माल्दिभ्स पनि प्रतियोगितामा पहिलो जितको प्रयासमा रहेको छ। उसले पहिलो खेलमा भारतसँग ११–१ को ठूलो हार बेहोरेको थियो। त्यसकारण आजको खेलमा माल्दिभ्स पुनरागमन गर्ने रणनीतिका साथ मैदानमा उत्रने अपेक्षा गरिएको छ।
साफको आयोजनामा पहिलोपटक आयोजना गरिएको महिला फुटसल च्याम्पियनसपमा नेपालसहित भारत, भुटान, बंगलादेश, श्रीलंका, पाकिस्तान र माल्दिभ्स गरी सात राष्ट्र सहभागी छन्। प्रतियोगिता ‘सिंगल राउन्ड रोबिन’ ढाँचामा सञ्चालन हुँदैछ।
सबै टोलीले एकअर्कासँग एक–एक खेल खेलेपछि अंक तालिकाको शीर्ष स्थानमा रहने टोलीले उपाधि जित्नेछ।












