नेपाली कांग्रेसमा आधिकारिकता संकट, विशेष महाधिवेशनलाई लिएर विवाद चर्कियो
Prime TV News २ महिना अगाडि 
काठमाडौ । नेपाली कांग्रेसमा नेतृत्व चयन र पार्टीको आधिकारिकतासम्बन्धी विवाद नयाँ चरणमा प्रवेश गरेको छ।
महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा तथा सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई पाँच वर्षका लागि पार्टीबाट निष्कासन गर्ने केन्द्रीय कार्यसमितिको निर्णयपछि पार्टीभित्रको शक्ति संघर्ष थप तीव्र बनेको हो।
बुधबार बसेको केन्द्रीय कार्यसमिति बैठकले विशेष महाधिवेशनको माग गर्दै आएका यी तीन पदाधिकारीले पार्टी हितविपरीत काम गरेको ठहर गर्दै कारबाही गरेको थियो। तर कारबाहीको निर्णयलगत्तै गगन–विश्वप्रकाश पक्षले काठमाडौँको भृकुटीमण्डपमा विशेष महाधिवेशनमार्फत नयाँ नेतृत्व चयनको प्रक्रिया अघि बढाएको छ।
विशेष महाधिवेशन पक्षधरहरूले बहुमत महाधिवेशन प्रतिनिधि आफ्नो पक्षमा रहेको दाबी गर्दै सोही आधारमा नेतृत्व चयन गर्ने तयारी भइरहेको बताएका छन्। उनीहरूका अनुसार पार्टीलाई वर्तमान नेतृत्वले सही दिशामा लैजान नसकेकाले विधानअनुसार विशेष महाधिवेशन अपरिहार्य भएको हो।
यता, सभापति शेरबहादुर देउवा नेतृत्वको संस्थापन पक्षले विशेष महाधिवेशनलाई अस्वीकार गर्दै आएको छ। कार्यवाहक सभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा बसेको केन्द्रीय कार्यसमितिको बैठकले कारबाहीको निर्णय गरेपछि संस्थापन पक्ष पनि सम्झौताभन्दा ‘वारपार’को रणनीतिमा देखिएको छ।
अब देउवा र खड्का नेतृत्वको संस्थापन पक्ष र गगन–विश्वप्रकाश नेतृत्वको विशेष महाधिवेशन पक्षबीच पार्टीको आधिकारिकतासम्बन्धी विवाद निर्वाचन आयोगसम्म पुग्ने सम्भावना देखिएको छ। राजनीतिक दलसम्बन्धी कानुन र पार्टी विधानका आधारमा निर्वाचन आयोगले आधिकारिकता टुंग्याउने प्रक्रिया अघि बढाउन सक्छ।







