सवारी चालक अनुमतिपत्र छपाइ तथा वितरण अनिश्चितकालका लागि स्थगित
Prime TV News १० महिना अगाडि 
काठमाडौं । यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइ तथा वितरणका सेवा अनिश्चितकालका लागि स्थगित गरेको छ। विभागले आइतबार एक सूचना जारी गर्दै अर्को सूचना जारी नभएसम्मका लागि सवारी चालक अनुमतिपत्र छपाइ, वितरण र सूचना प्रविधिसम्बन्धी सबै सेवा बन्द रहने जानकारी दिएको हो।
विभागका अनुसार हालै विभागको संरचनामा भएको तोडफोड, आगजनी तथा चोरी–लुटपाटका कारण विद्युतीय उपकरण, छपाइ मेसिन तथा सर्भरहरूमा गम्भीर क्षति पुगेको छ। यसले सूचना प्रविधिसम्बन्धी सम्पूर्ण प्रणालीलाई अवरुद्ध बनाएको विभागले जनाएको छ।
विभागद्वारा जारी सूचनामा भनिएको छ, "सवारी चालक अनुमतिपत्र तथा विद्युतीय सवारी साधन दर्तासम्बन्धी सेवा अवरुद्ध भएको विषम परिस्थितिमा अर्को सूचना प्रकाशित नभएसम्मका लागि सूचना प्रविधिसम्बन्धी सम्पूर्ण सेवा बन्द रहने जानकारी गराइन्छ।"
विभागले आम नागरिक तथा सेवाग्राहीलाई असुविधाप्रति क्षमायाचना गर्दै संयमता र सहकार्यका लागि अनुरोध गरेको छ।







