जनयुद्धका मुद्दा पूरा नभएसम्म शान्ति सम्झौताको कार्यान्वयन सम्भव छैनः प्रचण्ड
Prime TV News १९ घण्टा अगाडि 
काठमाडौ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले आफ्नो नेतृत्वमा भएको जनयुद्धले उठाएका मुद्दा पूरा नभएसम्म शान्ति सम्झौताको सम्पूर्ण कार्यान्वयन सम्भव नहुने बताएका छन्।
विस्तृत शान्ति सम्झौता १९ वर्ष पूरा भएको अवसरमा प्रचण्डले जारी गरेको सन्देशमा उनले तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र आफूले हस्ताक्षर गरेको ऐतिहासिक दिनको स्मरण गर्दै शान्ति प्रक्रियामा योगदान दिने सबैलाई सम्मान व्यक्त गरेका छन्।
उनले भने, “आज नयाँ एकीकरण र ध्रुवीकरणबाट बनेको नेपाली कम्युनिष्ट पार्टीले शान्ति सम्झौतामा आफ्नो राजनीतिक स्वामित्व र जिम्मेवारी बहन गर्दै बाँकी कार्यभार पूरा गर्न प्रतिबद्ध रहनेछ।”
पूर्व विद्रोही नेकपा माओवादीका अध्यक्ष समेत रहेका प्रचण्डले जनयुद्धले उठाएका सामाजिक न्याय, सुशासन, आर्थिक समानता र समृद्धिका मुद्दा पूरा नभएसम्म शान्ति सम्झौताको पूर्ण कार्यान्वयन सम्भव नहुने जिकिर गरेका छन्। साथै, उनले नेपाली समाजमा देखापरेका समस्या समाधानका लागि सबै पक्षलाई एकजुट भएर काम गर्न आह्वान गरेका छन्।













