राष्ट्रपति पौडेलद्धारा प्रतिनिधि सभा निर्वाचन सफल बनाउने आह्वान

User Image Prime TV News २१ घण्टा अगाडि
Image of राष्ट्रपति पौडेलद्धारा प्रतिनिधि सभा निर्वाचन सफल बनाउने आह्वान

काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी फागुन २१ गतेका लागि घोषणा गरिएको प्रतिनिधि सभा निर्वाचन सफल बनाउन सबै पक्षलाई आह्वान गरेका छन्।

पद्मकन्या बहुमुखी क्याम्पसको हीरक जयन्ती कार्यक्रममा बोल्दै राष्ट्रपति पौडेलले निर्वाचन देश, जनता र लोकतन्त्रका लागि अपरिहार्य भएको बताए। राष्ट्रपति पौडेलले देश अहिले विषम परिस्थितिबाट गुज्रिरहेको उल्लेख गर्दै संविधान, लोकतन्त्र र मुलुकलाई जोगाउन निर्वाचन मिति घोषणा गरिएको जानकारी दिएका छन्।

उनले निर्वाचनको परिणामले मुलुकको सुशासन, विकास र समृद्धिको यात्रालाई सुदृढ गर्दै नयाँ दिशा दिने विश्वास व्यक्त गरे। कार्यक्रममा राष्ट्रपति पौडेलले व्यवहारिक ज्ञान, नैतिक शिक्षा र क्षमता अभिवृद्धि गर्ने सीपमूलक शिक्षालाई प्राथमिकता दिनुपर्ने आवश्यकता औंल्याए।

उनले पद्मकन्या क्याम्पसलाई महिला विश्वविद्यालय बनाउने प्रयासप्रति पनि खुशी व्यक्त गरे ।