फोहोर व्यवस्थापनको अवरोध अन्ततः ११ बुँदे सहमति पछि हट्यो
Prime TV News ५५ मिनेट अगाडि 
काठमाडौ । बञ्चरे डाँडामा वर्षौँदेखि दोहोरिरह आएको फोहोर व्यवस्थापनको अवरोध अन्ततः ११ बुँदे सहमतिसहित हटेको छ।
सरकारले स्थानीय सरोकारवालासँग सिंहदरबारमा बिहीबार गरेको छलफल सकारात्मक निष्कर्षमा पुगेपछि ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले सहमति अन्ततः कार्यान्वयनतर्फ अगाडि बढेको भन्दै खुसी प्रकट गरेका छन्।
घिसिङले सामाजिक सञ्जालमार्फत काठमाडौँ उपत्यकाको फोहोर विसर्जनमा लागेको अवरोध हटाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै अब काम रोकिन नहुने स्पष्ट संकेत दिएका छन्।
विगतमा बञ्चरे डाँडाका बासिन्दामाथि दायर गरिएका मुद्दामा तत्काल निर्णय गरी पत्राचार गर्ने, लामो समयदेखि रोकिएको वातावरणीय प्रभाव मूल्यांकन (ईआइए) छिटो सम्पन्न गराउन कन्सल्टेन्ट कम्पनीलाई बाध्यकारी पत्र पठाउने र आवश्यक जग्गा अधिग्रहणका लागि आगामी आर्थिक वर्षमै बजेट विनियोजन गर्ने सरकारले प्रतिबद्धता जनाएको छ ।
सहमतिमा स्थानीयका घर–टहरा तथा बालीबुट्टाको क्षतिपूर्तिका लागि २०८२/८३ को बजेटमार्फत काठमाडौँ महानगरपालिकालाई तुरुन्तै पत्राचार गर्ने व्यवस्था पनि राखिएको छ।
क्यापिङ लेयर बाहिर डाँडा काटेर फोहोर फालिँदा लिचेट सिधै पानीका स्रोतमा मिसिएर कोल्पु खोला गम्भीर रूपमा प्रदूषित भएको स्थानीयले आरोप गर्दै आएका थिए।
सहमतिमा यस्तो कार्य तत्काल रोक्ने, दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउने र १५ दिनभित्र विज्ञ टोली बनाएर फिल्ड निरीक्षणसहित दीर्घकालीन समाधान तय गर्ने व्यवस्था राखिएको छ।















