राष्ट्र संघीय जलवायु सम्मेलनमा अचानक आगलागीका कारण अवरुद्ध
Prime TV News २ घण्टा अगाडि काठमाडौ । ब्राजिलको भ्यालेममा जारी संयुक्त राष्ट्र संघीय जलवायु सम्मेलन कोप–३० बिहीबार अचानक लागेको आगलागीका कारण अवरुद्ध भएको छ।
सम्मेलन स्थलभित्रको एक मण्डपमा आगो लागेपछि आयोजकहरूले सहभागीहरूलाई तुरुन्तै बाहिर निकाल्दै स्थल पूर्ण रूपमा खाली गराइएको थियो।
बीबीसीका अनुसार आगो देखिएको केही मिनेटमै दमकल टोली सक्रिय बनेको थियो। करिब ६ मिनेटमै आगो नियन्त्रणमा लिइए पनि ठूलो मात्रामा उठेको धुवाँका कारण केन्द्र तनावपूर्ण बनेको थियो।
सास फेर्न गाह्रो भएका २१ जनाको घटनास्थलमै स्वास्थ्य परीक्षण गरिएको प्रारम्भिक जानकारी आएको थियो। संयुक्त राष्ट्र संघले पछिल्लो अद्यावधिकमा धुवाँबाट प्रभावित १३ जनाको उपचार भएको पुष्टि गरेको छ।
आगलागीको कारण अझै पत्ता लागिसकेको छैन। स्थानीय सुरक्षा निकायले सबै सम्भावित कारकको अनुसन्धान सुरु गरिसकेका छन्। घटना हुँदा सम्मेलनको सम्पूर्ण कार्यसूची रोकिएको थियो।













