एमाले महाधिवेशन तयारी तीव्र, विभिन्न समिति गठन

User Image Prime TV News २ घण्टा अगाडि
Image of एमाले महाधिवेशन तयारी तीव्र, विभिन्न समिति गठन

काठमाडौ । नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठक आठ घण्टा लामो छलफलपछि सम्पन्न भएको छ।

पार्टी कार्यालय च्यासलमा बसेको विस्तारित बैठकले आगामी ११औँ राष्ट्रिय महाधिवेशनका लागि आवश्यक सबै तयारी अघि बढाउँदै विभिन्न समितिहरू गठन गरेको छ।

उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार बैठकले प्रतिनिधि व्यवस्थापन समिति काशीनाथ अधिकारीको संयोजकत्वमा गठन गरेको छ।

समितिमा माधव ढुङ्गेल सचिव तोकिएका छन्। त्यस्तै, प्रदीप ज्ञवाली र राजन भट्टराई रहेको जनपरिचालन समिति, छविलाल विश्वकर्मा संयोजक तथा लालबाबु पण्डित सचिव रहेको आवास व्यवस्थापन समिति पनि गठन गरिएको छ।

बैठकले खाद्य व्यवस्थापन समिति लेखराज भट्टको संयोजकत्वमा बनाएको छ भने यातायात समितिमा भीष्म अधिकारी, गोकर्ण विष्ट र रचना खड्का छन्।

रघुवीर र महेश बर्तौलाले सम्हाल्ने अतिथि सत्कार समिति, पद्मा अर्याल र राजेन्द्रद्वारा सञ्चालन हुने प्रचार समिति, भानुभक्त ढकाल र विनोद ढकाल रहेको स्वयंसेवक समिति तथा विनोद श्रेष्ठ र लोकबहादुर भण्डारी रहेको मञ्च व्यवस्थापन समिति पनि गठन भएका छन्।

त्यस्तै, कृष्णगोपाल श्रेष्ठको संयोजकत्वमा स्वास्थ्य समिति तथा विष्णु रिमाल र विना श्रेष्ठ रहेको आर्थिक समिति गठन भएको एमालेले जनाएको छ।

सचिवालय समिति पृथ्वी सुब्बा र योगेश भट्टराईलाई जिम्मेवारी दिइएको छ भने विजय सुब्बाको संयोजकत्वमा निर्वाचन संयोजन समिति बनाइएको छ।

बैठकले यसअघि तय गरिएको प्रतिनिधि चयनको मापदण्डमा केही संशोधन पनि गरेको छ। नयाँ प्रावधान अनुसार, आमसदस्यबाट निर्वाचनमा प्राप्त थ्रेसहोल्ड क्रस गर्दा शेषको ५० प्रतिशत पूरा भए एक जना अतिरिक्त प्रतिनिधि थपिनेछ।

त्यस्तै, प्रवासी नेपाली मञ्चबाट पाँच जना र उपत्यका विशेष क्षेत्रबाट एक जना प्रतिनिधि थपिने निर्णय गरिएको छ। एमालेले नेकपा–एसबाट फर्किएका सदस्यहरूलाई पनि महाधिवेशन प्रतिनिधिमा समावेश गर्ने निर्णय गरेको छ।