नेकपा–जसपाबीच एकताका लागि १० बुँदे मस्यौदा तयार, भोलि अन्तिम टुंगो लाग्ने
Prime TV News २ घण्टा अगाडि 
काठमाडौ । नेपाली कम्युनिस्ट पार्टी र अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी बीच एकताका लागि १० बुँदे सहमतिको मस्यौदा तयार भएको छ।
बिहीबार नेकपाको केन्द्रीय कार्यालयमा बसेको दुवै पक्षका वार्ता समितिको बैठकले मस्यौदामा सहमति जुटाएको हो। बैठकमा सहभागी नेकपा नेता प्रकाश ज्वालाका अनुसार मस्यौदा आजका सुझावहरू समेटेर भोलि अन्तिम रूप दिने तयारी छ।
मस्यौदा टुंगिएपछि नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सह–संयोजक माधवकुमार नेपाल र जसपा अध्यक्ष अशोक राईबीच बसेर एकताको अन्तिम निर्णय हुनेछ।
वार्तामा दुई पार्टी नेपाली विशेषताको समाजवादलाई आगामी राजनीतिक मार्गदर्शनका रूपमा स्वीकार्ने सहमतिमा पुगेका छन्। जसपा मार्गदर्शक सिद्धान्तका रूपमा माक्र्सवाद–लेनिनवाद मान्न तयार भएको वार्ता समितिका सदस्यहरूले जानकारी दिएका छन्।
त्यस्तै पार्टी सञ्चालनको मूल सिद्धान्त जनवादी केन्द्रीयता हुने विषयमा पनि दुवै पार्टीबीच सहमति बनेको छ। दुवै दलबीच भइरहेको वार्ता अन्तिम चरणमा पुगेकाले एकता अब औपचारिक घोषणा नजिकिएको संकेत देखिएको छ।













