राष्ट्रपतिबाट कार्कीको नियुक्ति असंवैधानिक: सभामुख घिमिरेको सर्वोच्चलाई प्रतिक्रिया
Prime TV News ७ घण्टा अगाडि 
काठमाडौ । प्रधानमन्त्री सुशीला कार्कीको नियुक्ति संवैधानिक आधारविना गरिएको भन्दै सभामुख देवराज घिमिरेले सर्वोच्च अदालतमा लिखित प्रतिक्रिया दिएका छन्।
कानुनका विद्यार्थी अयुश बडालले दायर गरेको रिटको जवाफमा सभामुखले राष्ट्रपतिबाट पूर्वप्रधानन्यायाधीशलाई प्रधानमन्त्री बनाइएको प्रक्रिया संविधान, कानुनी शासन र स्थापित संसदीय पद्धतिको प्रतिकूल रहेको बताएका हुन्।
घिमिरेले आफ्नो जवाफमा लेखेका छन्, “स्पष्ट संवैधानिक व्यवस्था विपरीत, संविधानका पालक तथा संरक्षकबाट नै संविधानवाद र प्रचलित पद्धति उल्लंघन गर्दै वर्तमान प्रधानमन्त्री नियुक्त भएको देखिन्छ।”
सभामुख घिमिरेले नेपालको संविधानको धारा ७६ प्रधानमन्त्री नियुक्तिको एकमात्र आधार भएको उल्लेख गर्दै, बहुमत प्राप्त दलको प्रतिनिधिसभा सदस्यलाई प्रधानमन्त्री बनाइने स्पष्ट प्रावधानविपरीत राष्ट्रपति पौडेलले प्रतिनिधिसभा सदस्य नै नभएकी व्यक्तिलाई नियुक्त गर्नु असंवैधानिक हस्तक्षेप भएको आरोप लगाए।
उनले भने, “प्रतिनिधिसभा सदस्य नभएको व्यक्तिलाई प्रधानमन्त्री बनाउनु धारा ७६ को आत्मा र संरचनाविपरीत छ। त्यसैले निवेदकको मागअनुसार रिट जारी हुनु आवश्यक छ।” सभामुख घिमिरेले संविधानको धारा १३२ को उल्लेख गर्दै पूर्वप्रधानन्यायाधीश वा सर्वोच्चका पूर्वन्यायाधीशलाई न्यायिक बाहेक अन्य कुनै सरकारी पदमा नियुक्त गर्नै नपाइने प्रावधान स्पष्ट रहेको बताए।
जवाफमा उनले लेखेका छन्, “प्रधानन्यायाधीश वा न्यायाधीशलाई न्यायिक पदबाहेक अन्य कुनै पदमा खटाउन नपाइने संवैधानिक व्यवस्था हुँदाहुँदै पूर्वप्रधानन्यायाधीशलाई प्रधानमन्त्री बनाइएको छ। यसले धारा १३२ प्रत्यक्ष रूपमा उल्लंघन गर्छ।”













