ए डिभिजन फुटबल क्लबहरुले एन्फा कम्लेक्स अगाडी दिए धर्ना
Prime TV News ७ घण्टा अगाडि 
काठमाडौ । अखिल नेपाल फुटबल संघले आफुहरुसंग गरेको सहमति कार्यान्वयनका लागि दवाव दिन भन्दै ए डिभिजन फुटबल क्लबहरुले एन्फा कम्लेक्स अगाडी धर्ना दिएका छन् ।
गत कार्तिक १७ गतेको छलफलमा भएको सहमति अनुसार एन्फा अघि नबढेको भन्दै ए डिभिजन फुटबल क्लबहरुले बिहीबार एन्फा कम्लेक्स अगाडी धर्ना दिएका हुन् । उनीहरुले नेपाली फुटबललाई अघि बढाउन एन्फाले ल्याएको प्रस्तावलाई बाध्यकारी रुपमा आफुहरुले स्वीकार गरेपनि अहिले एन्फाले नै उक्त सहमतिलाई कार्यान्वयन नगरेको आरोप लगाएका छन् ।
हिमालयन शेर्पा क्लबका अध्यक्ष कर्मा छिरिङ शेर्पाले यो वर्ष पुसदेखि राष्ट्रिय लिग गर्ने र अर्को वर्ष पुसमा होम एन्ड अवे फम्र्याटमा ए डिभिजन लिग गर्ने सहमति कार्यान्वयनमा एन्फा अग्रसर नभएकाले धर्ना दिइएको बताए ।
उनले आफुहरुसंग गरेको सहमति कार्यान्वयनमा आफुहरुको जोड रहेको भन्दै यस बिषयमा खेलकुद मन्त्रालयले समेत ध्यान दिनुपर्ने बताए । धर्नामा सहभागीहरुले एक बर्षको फुटबल साइकललाई ४ बर्षसम्म लम्वाउन नहुने, फुटबल दवावमा होइन, मैदानमा खेलौ, ८९३ दिनदेखि ए डिभिजन कस्को कारणले रोकियो, क्लवको लगानीलाई वेवास्ता नगरौ लगाएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।













