संसदका पदाधिकारीले गरे निर्माणाधीन नयाँ संसद भवनको निरिक्षण

User Image Prime TV News ७ घण्टा अगाडि
Image of संसदका पदाधिकारीले गरे निर्माणाधीन नयाँ संसद भवनको निरिक्षण

काठमाडौ । विघटित प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले सिंहदरबारमा निर्माणाधीन नयाँ संसद भवनको निरिक्षण गरेका छन् । बिहीबार उनीहरुले संयुक्त रुपमा निर्माणाधीन संसद भवनको कार्यप्रगतिकाबारेमा जानकारी लिदै निरिक्षण गरेका हुन् ।

निरिक्षणपछि संघीय संसदका पदाधिकारीहरूले निर्माणाधीन नयाँ संसद भवनमा केहि गतिका साथ काम भइरहेको पाइएको प्रतिक्रिया दिएका छन् । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा बैठक चैत्र–बैशाखमा सञ्चालन गर्ने गरि निर्माण कार्यलाई अघि बढाउनुपर्ने बताए ।

राष्ट्रियसभा बैठक तत्काल बस्नका लागि अरु नै प्रवन्ध गर्नुपर्ने देखिएको उनले बताए । त्यस्तै राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले मंसिरभित्र राष्ट्रियसभाको अधिवेशन बोलाउने तयारी भइरहेकाले हालका लागि कृषि समितिको हलबाट सभा सञ्चालन गर्ने तयारी भइरहेको जानकारी दिए ।

प्रतिनिधिसभाका लागि आवश्यक रहेकाले नयाँ संसद भवनको निर्माणलाई गतिका साथ अघि बढाउनुपर्ने बताए । नयाँ संसद भवन तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी २०७६ असोज १६ गते निर्माण कम्पनीसँग सम्झौता भएको थियो।

तोकिएको समयमा काम नसकिएपछि पछिल्लो पटक पाँचौँ पटकका लागि २०८२ पुस १६ गतेसम्म म्याद थप गरिएको छ  । सङ्घीय संसद्का दुवै सदन, संसदीय समितिहरू र संसदीय दलका कार्यालयसमेत रहने गरी १२ वटा ब्लक सहितको नयाँ संसद् भवनको संरचना निर्माण भइरहेको छ ।