महाधिवेशनको समयतालिका विवाद चर्किदा कांग्रेसमा तनाब, फेरि सर्यो कन्द्रीय समिति बैठक
Prime TV News १४ घण्टा अगाडि 
काठमाडौ । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक स्थगित भएको छ । असोज २८ गतेदेखि सुरु भएको केन्द्रीय कार्यसमिति बैठक कुनै निष्कर्षमा पुग्न नसकँदा पटक–पटक स्थगित हुँदै आएको छ।
आज दिउँसो बस्ने भनिएको बैठक पनि नेतृत्वबीच सहमति नजुटेकै कारण फेरि स्थगित भएर शनिबार दिउँसो २ बजेका लागि सारिएको पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन्। नेपाली कांग्रेसभित्र १५औँ महाधिवेशनको समय निर्धारणलाई लिएर उत्पन्न भएको तीव्र विवादले पार्टी नेतृत्व दबाबमा परेपछि सभापति शेरबहादुर देउवाले आन्तरिक छलफललाई तीव्रता दिएका छन्।
संस्थापनइतर गुटले आगामी निर्वाचनअघि विशेष महाधिवेशन गर्नुपर्ने कडा अडान लिँदै देउवालाई निर्णयमा उभिन दबाब दिइरहेकै बेला सभापति देउवा ‘मध्यमार्गी समाधान’ खोज्ने तयारीमा जुटेका छन्। देउवा निवासमा कार्यवाहक सभापति पूर्णबहादुर खड्का, नेता रामहरी खतिवडा लगायत संस्थापन पक्षका नेताहरूको बैठक लगातार चलिरहेको छ।
तर पार्टीका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग सम्पर्क गर्न खोज्दा फोन नउठेको संस्थापन पक्षका एक नेताले बताएका छन्। स्रोतका अनुसार संस्थापन पक्षको कार्यशैलीप्रति असन्तुष्ट रहेका थापा र शर्मा सभापति देउवासँग संवादमै बस्न तयार नभएको देखिन्छ।
संस्थापन पक्षले केन्द्रीय कार्यसमितिको पदावधि बढाउने प्रस्ताव भोलिको बैठकमा ल्याउन लागेपछि इतर पक्षले पुनः ध्यानाकर्षणपत्र बुझाउने तयारी गरेका छन्। तर कार्यवाहक सभापति खड्काले भेटवार्ताका लागि समय नदिएको बताइएको छ ।
बैठकमा १५औँ महाधिवेशनको समयतालिका मुख्य एजेन्डा बनेको छ। संस्थापन पक्ष: फागुनमा हुने निर्वाचनपछि वैशाखमा महाधिवेशन गर्नु पर्ने पक्षमा छ । इतर पक्ष: मंसिरमै महाधिवेशन, नभए चुनावअघि विशेष महाधिवेशन अनिवार्य गर्नुपर्ने अडानमा छ ।
यसै विषयलाई लिएर दुवै गुट अलग–अलग भेला गर्दै कार्यकर्ताहरूलाई आफ्नो प्रस्तावतर्फ मोड्न प्रयासरत छन्। गुटगत ध्रुवीकरण तीव्र बन्दै जाँदा सामाजिक सञ्जाल तथा भित्री बैठकहरूमा आरोप–प्रत्यारोप पनि बढेको छ।













