सुदन गुरूङले गृहमन्त्री अर्यालविरुद्ध ‘मलाई पनि पक्राउ गर’ अभियान चलाउने
Prime TV News १३ घण्टा अगाडि 
काठमाडौ । नेपाल नामक संस्थाका संयोजक सुदन गुरूङले गृहमन्त्री ओमप्रकाश अर्यालविरुद्ध सामाजिक सञ्जालमार्फत कडा अभियान थालेका छन् । उनले गृहमन्त्रीको राजीनामा माग गर्दै फेसबुकमा लगातार तीव्र धारणा राख्दै आएका छन्।
गुरूङले फेसबुकमार्फत एक पोस्टर सार्वजनिक गर्दै “मौनतालाई कमजोरी नठान्नू : जनआन्दोलनको ज्वालामुखी उठ्दैछ” भन्दै गृहमन्त्रीमाथि कडा प्रहार गरेका छन्। उनले साझा गरेको पोस्टरमा गृहमन्त्रीविरुद्ध तीनवटा ह्यासट्याग उल्लेख छन् । जसमार्फत उनी जनस्तरमा दबाब बढाउन खोजिरहेको देखिन्छ।
यसअघि पनि गुरूङले बारामा जेनजी समूदायमाथि भएको कुटपिट घटनाको आरोप गृहमन्त्रीको लाचारीपन भएको टिप्पणी गरेका थिए । उनले लेखेका थिए, “गृहमन्त्रीले आन्दोलनको म्यान्डेट, सडकमा बगेको रगत, जनेजी भाइबहिनीहरूको बलिदान सबै बिर्सिए जस्तो देखिँदा लाज पनि लजाइसक्यो।”
गुरूङले गृहमन्त्रीले भ्रष्टाचार तथा हिंसात्मक गतिविधिमा संलग्न व्यक्तिहरूलाई कारबाही नगरेको र परिवर्तनका आवाज उठाउनेहरूलाई दमन गरेको आरोप लगाएका छन्। उनले चेतावनी दिंदै भनेका छन्, “यदि गृहमन्त्रीले राजीनामा नदिए, दोषीलाई कारबाही गर्न सकेनन् र देशप्रेमीहरूलाई नै पक्राउ गर्न खोजे भने ‘मलाई पनि पक्राउ गर’ राष्ट्रिय अभियान सुरु गर्छु।”
गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा भएको दमनका लागि दोषी सुरक्षाकर्मीहरूलाई कारबाही गर्न उनी निरन्तर माग गरिरहेका छन्।













