सिमराको घटनापछि प्रधानमन्त्री कार्कीको आग्रह : अराजकता रोकौ, लोकतन्त्रमा भरोसा राखौ’

User Image Prime TV News १४ घण्टा अगाडि
Image of सिमराको घटनापछि प्रधानमन्त्री कार्कीको आग्रह : अराजकता रोकौ, लोकतन्त्रमा भरोसा राखौ’

काठमाडौ । बाराको सिमरामा बुधबार उत्पन्न तनावपछि प्रधानमन्त्री सुशीला कार्कीले सबै पक्षलाई नियन्त्रणमा रहन र लोकतान्त्रिक प्रक्रियाप्रति आस्था कायम राख्न अपिल गरेकी छिन्। उनले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै युवाहरूको असन्तुष्टि गम्भीर विषय भए पनि हिंसा र विध्वंसले कुनै समाधान नदिने स्पष्ट गरेकी छन्।

प्रधानमन्त्री कार्कीले लेखेकी छिन्, “लोकतान्त्रिक प्रणालीको माध्यमबाट मात्रै युवाहरूका वास्तविक अपेक्षा पूरा गर्न सकिन्छ। त्यसैले सबै पक्षलाई अवाञ्छित राजनीतिक उत्तेजनाबाट टाढा रहन र लोकतान्त्रिक प्रक्रियामा विश्वास राख्न हार्दिक अपिल गर्दछु।”

सिमरामा रहेको तनावपूर्ण अवस्थालाई ध्यानमा राख्दै उनले गृह प्रशासन र सुरक्षा निकायलाई शान्ति–सुरक्षा कायम गर्न आवश्यक सबै उपाय अवलम्बन गर्न निर्देशन दिएकी छन्।उनले राजनीतिक दलका नेताहरूको सुरक्षित आवागमन सुनिश्चित गर्नु, आम नागरिकलाई भयमुक्त वातावरण दिनु र निर्वाचन प्रक्रियालाई निष्पक्ष रूपमा सञ्चालन गर्नु सरकारको प्रमुख जिम्मेवारी भएको बताएकी छन् ।

प्रधानमन्त्री कार्कीले अभिव्यक्ति स्वतन्त्रता लोकतन्त्रको मूल मूल्य भएको स्वीकार्दै पनि त्यसको नाममा सार्वजनिक सम्पत्तिमा क्षति पुर्‍याउने वा कानून हातमा लिने क्रियाकलाप सह्य नहुने चेतावनी दिइन्। उनले भनिन्, “युवाहरूको आक्रोश र राजनीतिक असन्तुष्टिलाई हामीले गम्भीरतापूर्वक लिएका छौँ।

तर विमानस्थलमा अवरोध सिर्जना, सार्वजनिक ढाँचामाथि तोडफोड वा कानूनविपरीत कार्य कसैलाई स्वीकार्य हुँदैन।”