एनपीएलमा आज लुम्बिनी लायन्स र चितवन राइनोज आमनेसामने हुदै
Prime TV News १५ घण्टा अगाडि 
काठमाडौ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज नेपाल प्रिमियर लिग (एनपीएल) अन्तरगत लुम्बिनी लायन्स र चितवन राइनोज बीच रोमाञ्चक प्रतिस्पर्धा हुने भएको छ।
लुम्बिनी लायन्स रोहित पौडेलको नेतृत्वमा मैदान उत्रिँदैछ भने चितवन राइनोजलाई कुशल मल्लले कप्तानी गर्दै छन्। आजको एकमात्र खेल अपरान्ह ४ बजेदेखि सुरु हुनेछ।
चितवनले पहिलो खेलमा कर्णाली याक्सलाई चार विकेटले पराजित गर्दै प्रतियोगितामा उत्कृष्ट सुरुआत गरिसकेको छ। टोलीले यही लय कायम राख्दै प्लेअफ चरणसम्म पुग्ने लक्ष्य राखेको छ। लुम्बिनी भने नयाँ ऊर्जा र नयाँ रणनीतिसहित यो संस्करणमा सुखद् सुरुआत गर्ने मनसायमा छ।
गत संस्करण लुम्बिनी लायन्सका लागि निराशाजनक बनेको थियो। टोलीले खेलेका सात खेलमध्ये एक खेलमात्र जित्न सकेको थियो। चितवन राइनोज भने गत वर्ष प्लेअफसम्म पुगेको टोली हो, जसले यसपटक पनि आफूलाई बलियो दावेदारका रूपमा प्रस्तुत गर्ने प्रयास गरिरहेको छ।
गत वर्षको लिग चरणमा लुम्बिनीले चितवनलाई ३३ रनले पराजित गरेको सम्झना ताजा छ। आज चितवन त्यस हारको बदला लिन मैदान उत्रनेछ भने लुम्बिनी लगातार जितको बाटो समात्ने योजना लिएर खेल्दैछ।













