नेपाली कांग्रेसको महाधिवेशन विवाद झन् चर्कियो, केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दै

User Image Prime TV News १८ घण्टा अगाडि
Image of नेपाली कांग्रेसको महाधिवेशन विवाद झन् चर्कियो, केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दै

काठमाडौ । नेपाली कांग्रेसको महाधिवेशनको निर्वाचन अघि कि पछि भन्ने विवाद समाधान नहुँदा पार्टीको केन्द्रीय कार्यसमिति बैठक लगातार सारिँदै आएको छ।

गत असोज २८ गतेदेखि सुरु भएको बैठक अझै अनिर्णित बनेको छ । यस बिचमा पटक पटक सहमतीको प्रयास भएपनि कुनै निष्कर्षमा पुग्न सकेको छैन ।

महाधिवेशन कहिले गर्ने भन्ने विषयमा सहमति खोज्ने उद्देश्यले एक हप्ता कार्यसमिति बैठक रोकेर नेतृत्वले अनौपचारिक छलफल चलाए पनि ठोस निष्कर्ष निकाल्न नसकिएको कांग्रेस नेताहरुले बताएका छन् ।

दुवै पक्ष आ–आफ्नो अडानमै उभिएको अवस्थामा विवाद अझै समाधान हुन सकेको छैन। गत बिहीबारसम्म पदाधिकारी तथा सदस्यहरूले महाधिवेशनसम्बन्धी धारणा राखिसकेपछि कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सहमति खोज्न भन्दै बैठक स्थगित गरेका थिए।

तर शुक्रबार, शनिबार, सोमबार हुँदै गरिएको आन्तरिक प्रयासहरू सफल नभएपछि बैठक आजका लागि सारिएको हो। कात्तिक १९ गते महामन्त्री गगन थापाले पुस १६–१९ गते महाधिवेशन गर्ने कार्यतालिका प्रस्तुत गरेका थिए भने त्यसैदिन सहमहामन्त्री महेन्द्र यादवले वैशाख २७–३० गते महाधिवेशन गर्ने वैकल्पिक कार्यतालिका पेस गरेका थिए।

थापाको प्रस्तावलाई इतर समूहले समर्थन गरे भने यादवको प्रस्तावलाई संस्थापन पक्षले साथ दिएपछि कांग्रेसभित्र मतभेद गहिरिँदै गएको छ । यध्येपी आज दिउँसो २ बजेका लागि  केन्द्रीय समिति बैठक बाेलाइएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।