केन्द्रीय सुरक्षा समितिले प्रदेशस्तरमा नयाँ सुरक्षा संरचना गठन गर्ने
Prime TV News एक दिन अगाडि 
काठमाडौ । आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै केन्द्रीय सुरक्षा समितिले प्रदेशस्तरमा नयाँ सुरक्षा संरचना गठन गर्ने निर्णय गरेको छ।
गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा बसेको समितिको बैठकले सबै प्रदेशमा निर्वाचन सुरक्षा कमान्ड पोष्ट तथा निर्वाचन सेल गठन गर्न निर्देशन दिएको हो।
बैठकमा देशको पछिल्लो सुरक्षा अवस्थाको विस्तृत समीक्षा गरिएको थियो। चारवटा सुरक्षा निकायका प्रतिनिधिहरूले प्रस्तुत गरेका सुरक्षा चुनौती, जोखिम र सम्भावित संवेदनशीलताबारे छलफल गर्दै आगामी निर्वाचनलाई सुरक्षित, निष्पक्ष र विश्वसनीय बनाउने उद्देश्यसहित योजनाहरू परिमार्जन गरिएको छ।
निर्वाचनलाई व्यवस्थित सुरक्षा दिन तयार गरिएको प्रतिनिधि सभा सदस्य निर्वाचन एकीकृत सुरक्षा योजना, २०८२ अहिले चारै सुरक्षा निकाय र सबै जिल्ला प्रशासन कार्यालयमा कार्यान्वयनमा गएको बैठकले जनाएको छ।
यस योजनाअनुसार प्रत्येक प्रदेशमा प्रदेश प्रमुख सचिवको संयोजकत्वमा कमान्ड पोष्ट रहनेछ, जसमा प्रदेशस्तरका सबै सुरक्षा निकायका प्रमुख र आन्तरिक मामिला मन्त्रालयका सचिव सदस्य रहने व्यवस्था गरिएको छ। सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई आवश्यकतानुसार समावेश गरिनेछ।
केन्द्रीय सुरक्षा समितिले सबै प्रदेश प्रमुख सचिवहरूलाई सोही अनुसार संरचना गठन गरी निर्वाचन सुरक्षा व्यवस्थापनमा सक्रिय भूमिका निर्वाह गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत निर्देशन पठाउने निर्णय गरेको छ।
वर्तमान सुरक्षा परिवेशलाई संवेदनशील मान्दै, बैठकले चारवटै सुरक्षा निकायबीच आपसी समन्वय अझ प्रभावकारी बनाउने निर्णय गरेको छ। समितिले संभावित जोखिम न्यूनिकरण र चुनावी प्रक्रिया सुरुवातदेखि मतगणना सम्म पूर्ण सुरक्षा सुनिश्चित गर्न आवश्यक तयारी तत्काल पूरा गर्न निर्देशन दिएको छ।













