मधेश प्रदेशसभाका सभामुख रामचन्द्र मण्डल पदमुक्त
Prime TV News एक दिन अगाडि 
काठमाडौ । मधेश प्रदेशसभाका सभामुख रामचन्द्र मण्डल विपक्षी दलले पेश गरेको अविश्वासको प्रस्ताव पारित भएपछि पदमुक्त भएका छन्। आजको बैठकमा ७६ सांसदले प्रस्तावको पक्षमा मत दिएका छन् भने विपक्षमा कुनै मत परेको छैन।
मण्डल एमालेबाट निर्वाचित प्रदेशसभा सदस्य हुन्। नेपाली कांग्रेसका प्रमुख सचेतक कुमारकान्त झाले सभामुखले पदीय आचरण अनुकूल काम नगरेको भन्दै प्रस्ताव पेश गरेका थिए । जसलाई लोसपाका नेताहरूले समर्थन जनाएका थिए।
उपसभामुख बबिता राउत ईशरले आव्हान गरेको बैठकमा अविश्वास प्रस्ताव पेश गरिएको थियो। विपक्षीले सभामुखले मनोमानी ढंगले सदन चलाएको, सांसदहरूलाई बोल्न नदिएका र आक्रमण गरेको आरोप लगाएका छन्।
प्रदेशमा कुल १०७ सदस्यमध्ये ३ जना निलम्बित छन्। दुई तिहाइ बहुमतले प्रस्ताव पारित भएपछि मण्डल पदमुक्त भएका हुन्। प्रदेशको राजनीति यसअघि दुई सातादेखि अस्तव्यस्त थियो। एमाले एकतर्फ उभिएको छ भने अन्य दलहरूले विपक्षी भूमिका लिएका छन्।
प्रदेश प्रमुखबाट मुख्यमन्त्री नियुक्ति, केन्द्र सरकारबाट प्रदेश प्रमुख परिवर्तन र सर्वोच्च अदालतमा मुख्यमन्त्रीविरुद्धको मुद्दाले राजनीतिक परिस्थितिलाई अझ जटिल बनाएको छ।













