रास्वपाले सिमरा घटनाप्रति चिन्ता, सरकारको ध्यानाकर्षण

User Image Prime TV News एक दिन अगाडि
Image of रास्वपाले सिमरा घटनाप्रति चिन्ता, सरकारको ध्यानाकर्षण

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीले बाराको सिमरा विमानस्थलमा बुधबार भएको घटनालाई अत्यन्त संवेदनशील बताउँदै सरकारको गम्भीर ध्यानाकर्षण गरेको छ। पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा जारी केन्द्रीय कमिटी बैठकमा घटनाप्रति गम्भीर सरोकार व्यक्त गर्दै आवश्यक छानबिन तथा सुरक्षा व्यवस्था मजबुत पार्न सरकारलाई आग्रह गरिएको हो।

बैठकपछि पार्टीका प्रवक्ता मनिष झाले कुनै पनि राजनीतिक दललाई सार्वजनिक कार्यक्रम आयोजना गर्ने अधिकार सुनिश्चित गर्न राज्य जिम्मेवार बन्नुपर्ने बताए। उनले राजनीतिक वातावरण र चुनावी माहोल निर्माणका लागि दलहरूलाई आवश्यक सुरक्षा प्रदान गर्नु सरकारको दायित्व भएको उल्लेख गरे।

“निर्वाचनको माहोल निर्माणका लागि राजनीतिक दलले सार्वजनिक कार्यक्रम गर्न पाउनुपर्छ र सरकारले आवश्यक सुरक्षा उपलब्ध गराउनुपर्छ,” प्रवक्ता झाले बैठकको निष्कर्ष सुनाउँदै भने, “आज सिमरामा भएको घटना संवेदनशील छ। यसमा राष्ट्रिय स्वतन्त्र पार्टीको गम्भीर सरोकार छ र सरकारको आवश्यक ध्यानाकर्षण माग गर्दछौँ।”

रास्वपाले घटनाका कारण उत्पन्न भएको सुरक्षा प्रश्नमाथि चासो व्यक्त गर्दै आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन सम्बद्ध निकायहरूलाई प्रभावकारी कदम चाल्न आग्रह गरेको छ।