एमसीसी सम्झौताअन्तर्गत अमेरिकाले थप ५ करोड डलर अनुदान दिने

User Image Prime TV News एक दिन अगाडि
Image of एमसीसी सम्झौताअन्तर्गत अमेरिकाले थप ५ करोड डलर अनुदान दिने

काठमाडौ । नेपाल र अमेरिकाबीचको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताअन्तर्गत अमेरिकाले थप पाँच करोड अमेरिकी डलर (करिब सात अर्ब रुपैयाँ) अनुदान दिने घोषणा गरेको छ।

यससँगै सम्झौताअन्तर्गत कुल रकम ७४ करोड ७० लाख अमेरिकी डलर (करिब एक खर्ब ६ अर्ब रुपैयाँ) पुगेको छ। अमेरिकाले ५५ करोड डलर र नेपाल सरकारले १९ करोड ७० लाख डलर योगदान गर्नेछ।

अमेरिकी दूतावासका अनुसार, थप स्रोतले प्राथमिकता प्राप्त विद्युत् प्रसारण पूर्वाधार पूर्ण गर्न, ऊर्जा प्रणाली सुदृढ गर्न र क्षेत्रीय ऊर्जा व्यापार बढाउन मद्दत पुर्‍याउने विश्वास लिएको छ । विज्ञप्तिमा भनिएको छ कि यस सम्झौताले ऊर्जा ग्रिडको विश्वसनीयता र बजार पहुँच सुधार गर्दै अन्तर्राष्ट्रिय ‘कनेक्टिभिटी’मा योगदान पुर्‍याउनेछ।

साथै, अमेरिकी प्रविधि र कम्पनीहरूका लागि नेपाली बजारमा प्रवेशको अवसर पनि बढाउने अपेक्षा गरिएको छ। अमेरिकी दूतावासले भने, “यो सहयोगले अमेरिका र नेपालबीचको दीर्घकालीन साझेदारीलाई प्रतिबिम्बित गर्दछ।

दशकौँदेखि हाम्रा देशहरूले आर्थिक वृद्धि, ऊर्जा सुरक्षा र पारस्परिक समृद्धिमा सँगै काम गरेका छन्। एमसीसी सम्झौताले उच्च प्रभावयुक्त पूर्वाधारमा केन्द्रित, ऋणरहित र अनुदानमा आधारित सहायतामार्फत यो इतिहासलाई निरन्तरता दिएको छ।” भनेको छ ।