प्रतिबद्धता कार्यान्वयनमा आएको भन्दै फोहोर व्यवस्थापनमा अवरोध नगर्न मन्त्री घिसिङको आग्रह
Prime TV News एक दिन अगाडि 
काठमाडौ । काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापनमा सुधार गर्न बञ्जरेडाँडा ल्याण्डफिल साइटमा सरकारको प्रतिबद्धता कार्यान्वयनमा आएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले गत १६ कात्तिकमा साइटमा स्थानीयको माग पूरा गर्ने १५ दिने प्रतिबद्धता जनाएका थिए।
केही स्थानीयले माग पूरा नभएको भन्दै फोहोर लैजान अवरोध गर्ने चेतावनी दिएका थिए। मन्त्री घिसिङले मंगलबार स्थानीय आन्दोलनकारीसँग टेलिफोनमार्फत सम्पर्क गरी अब प्रतिबद्धता कार्यान्वयनमा आएको जानकारी दिएर फोहोर व्यवस्थापनमा अवरोध नगर्न आग्रह गरेका छन्।
स्थानीयको माग अनुसार ल्याण्डफिल साइटमा रात्रिकालीन फोहोर व्यवस्थापनका लागि बत्ती जडान गरिएको छ। साथै, शहरी विकास मन्त्रालयको संयोजकत्वमा प्रभावित नगरपालिका र गाउँपालिकाका प्रमुखको सहभागितामा सकजीकरण समिति गठन गरिएको छ।
समितिले विगतमा भएका सहमतिहरूको कार्यान्वयन प्रगति विवरण तयार पारेको छ। धादिङ र नुवाकोटका प्रभावितहरूलाई मुआब्जा वितरण गर्न समेत काठमाडौं महानगरपालिकालाई पत्राचार गरिएको छ। चालू आर्थिक वर्षका लागि क्षतिपूर्ति रकम वार्षिक ६५ लाखबाट बढाएर १ करोड १० लाख रुपैयाँ विनियोजन गरिएको छ।
यस्तै फोहोर लैजान छुट्टै बाटो प्रयोगका लागि प्रारम्भिक वातावरणीय परीक्षण गर्न परामर्शदातासँग सम्झौता भएको र प्रभावित क्षेत्रका चार सडक खण्डको स्तरोन्नतिका लागि बोलपत्र आह्वान भई मूल्याङ्कनको चरणमा रहेको सरकारले जनाएको छ ।













