बढ्दो तरलता नियन्त्रणमा केन्द्रित राष्ट्र बैंक, आज ५० अर्ब निक्षेप संकलन गर्न बोलकबोल
Prime TV News एक दिन अगाडि 
काठमाडौ । देशको वित्तीय प्रणालीमा तरलता अत्यधिक बढेपछि नेपाल राष्ट्र बैंकले आज ५० अर्ब रुपैयाँ बराबरको दीर्घकालीन निक्षेप संकलन गर्न लागेको छ।
खुला बजार सञ्चालनअन्तर्गतको निक्षेप संकलन उपकरण प्रयोग गर्दै केन्द्रीय बैंकले पुनः ठूलो परिमाणको तरलता नियन्त्रण गर्ने तयारी गरेको हो। हाल बैंकिङ प्रणालीमा कुल निक्षेप ७४ खर्ब नाघिसकेको छ।
तरलता लगातार चुलिँदै गएपछि ब्याजदरमा दबाब पर्न नदिने उद्देश्यले राष्ट्र बैंकले निक्षेप संकलन उपकरण र स्थायी निक्षेप सुविधा दुवैमार्फत सञ्चालन गर्दै आएको छ। आज हुने बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउनेछन्।
प्राप्त कबोलमध्ये सबैभन्दा कम ब्याजदर प्रस्ताव गर्ने संस्थालाई प्राथमिकता दिँदै मागिएको रकमसम्म निक्षेप बाँडफाँड गरिनेछ। अनलाइन खरिद प्रणालीमार्फत हुने बोलकबोलमार्फत नै ब्याजदर निर्धारण हुनेछ। आज संकलित हुने निक्षेपको सावाँ तथा ब्याज २०८३ माघ १८ गते भुक्तानी हुनेछ।
न्यूनतम बोल १० करोड रुपैयाँ तोकिएको छ भने अधिकतम बोल ५ करोडको गुणनफलले पूरा भाग जाने गरी सीमित गरिएको छ। खुला बजार कारोबारसम्बन्धी कार्यविधिअनुसार वित्तीय बजारमा दीर्घकालीन प्रकृतिको अत्यधिक तरलता देखिएमा अधिकतम ६ महिनासम्मको निक्षेप संकलन उपकरण प्रयोग गर्न पाउने प्रावधान छ।
यही व्यवस्थालाई आधार मानेर केन्द्रीय बैंकले पछिल्ला महिनाहरूमा पटक–पटक यो उपकरण प्रयोग गर्दै आएको छ।













