‘हामी नेपाली’ अभियानका संयोजक सुदन गुरुङद्वारा गृहमन्त्री अर्यालको आलोचना

User Image Prime TV News एक दिन अगाडि
Image of ‘हामी नेपाली’ अभियानका संयोजक सुदन गुरुङद्वारा गृहमन्त्री अर्यालको आलोचना

काठमाडौ । ‘हामी नेपाली’ अभियानका संयोजक सुदन गुरुङले गृहमन्त्री ओम प्रकाश अर्यालको भूमिकालाई लक्षित गर्दै कडा प्रतिक्रिया दिएका छन्। काटमार र भड्काउने अभिव्यक्ति दिने व्यक्तिहरू खुलेआम घूमिरहँदा सरकारले मौनता अपनाएको भन्दै गुरुङले गृहमन्त्रीमाथि निषेधात्मक र पक्षपातपूर्ण व्यवहार गरेको आरोप लगाएका हुन्।

गुरुङले सामाजिक सञ्जाल फेसबुकमार्फत लेख्दै शान्तिपूर्ण विरोधमा उत्रिएका युवामाथि गोली चलाउनेहरूलाई कानूनको दायरामा ल्याउन सरकार असफल भएको टिप्पणी गरे। “दुर्गा प्रसाईंभन्दा धेरै भड्काउने अभिव्यक्ति दिनेहरू खुलेआम चुनौती दिँडँदा पनि गृहमन्त्री निरिह देखिन्छन्,” उनले लेखे।

सरकारले ‘सानालाई ऐन, ठूलाे लाई चैन’ को नीति अपनाएको आरोप समेत लगाएका छन् । गृहमन्त्रीलाई सम्बोधन गर्दै उनले प्रश्न गरेका छन्, “आफूलाई संविधानविद् बताउने गृहमन्त्रीज्यू, संविधानको कुन धारामा शक्तिशालीलाई संरक्षण र सामान्य नागरिकमाथि दमन लेखिएको छ? विधिको शासन नचल्ने हो भने पुरानो शासन र अहिलेको बीचमा के फरक रह्यो?”

गुरुङले शक्तिशाली व्यक्तिहरू खुलेआम ‘लोप्पा’ खुवाउँदै हिंडिरहेको र गृहमन्त्री उनीहरूको प्रभावमा परेको आरोप पनि लगाए। “त्यो लोप्पा स्वीकार्दै कुर्सीमा टाँसिएर बस्नु कत्तिको सुहाउँछ?” उनले कटाक्ष गरे।

सडक आन्दोलनका क्रममा मृत्यु भएकाहरूका परिवार, घाइते र न्याय खोजिरहेका युवाहरूको उचित सम्बोधन तथा दोषीमाथि निष्पक्ष कारबाहीको माग गर्दै गुरुङले चेतावनी दिए, “सबैलाई समान न्यायको प्रत्याभूति बिना चुनाव सम्भव हुँदैन।”