नेकपा एमालेले सचिवालय बैठक बोलायो, महाधिवेशन तयारी मुख्य एजेन्डा

User Image Prime TV News एक दिन अगाडि
Image of नेकपा एमालेले सचिवालय बैठक बोलायो, महाधिवेशन तयारी मुख्य एजेन्डा

काठमाडौ । नेकपा एमालेले आगामी ११औँ राष्ट्रिय महाधिवेशनका तयारीलाई तीव्रता दिने उद्देश्यले सचिवालय बैठक बोलाएको छ ।

बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय, च्यासलमा बस्नेछ। केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीका अनुसार बैठकमा महाधिवेशन तयारीका मुख्य एजेन्डाहरू, प्रतिनिधि छनोटदेखि आवश्यक व्यवस्थापकीय कार्यक्रममाथि विस्तृत छलफल हुनेबताइएको छ ।

एमालेको ११औँ राष्ट्रिय महाधिवेशन मङ्सिर २७, २८ र २९ गते काठमाडौंमा हुँदैछ। महाधिवेशनका लागि प्रतिनिधि छनोट प्रक्रिया भने मङ्सिर १३ गते एकै दिन सम्पन्न गर्ने पार्टीले योजना बनाएको छ। यस्तै बैठकमा मङ्सिर ६ गते काठमाडौंमा आयोजना गर्न लागिएको पार्टीको प्रदर्शनबारे पनि छलफल हुने बताईएको छ ।

प्रतिनिधि सभा पुनर्स्थापनाको पक्षमा सडक र अदालत दुवै मोर्चाबाट दबाब बनाउँदै आएको एमालेले यही प्रदर्शनलाई ठूलो शक्ति–प्रदर्शनका रूपमा लिएको छ । फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधि सभा निर्वाचनको तयारीसँगै निर्वाचन आयोगले मङ्सिर १० गतेसम्म दल दर्ता गर्ने समय दिएको छ।

एमालेले आयोगमा दल दर्ता गर्ने वा नगर्ने सम्बन्धमा पनि पार्टीभित्र चासो बढिरहेको छ । यो विषय पनि बैठकमा उठ्ने सम्भावना रहेको नेताहरुले बताएका छन् ।