बंगलादेशमा कडा कदम : पूर्वप्रधानमन्त्री शेख हसिनासम्बन्धी समाचार प्रकाशनमा प्रतिबन्ध

User Image Prime TV News एक दिन अगाडि
Image of बंगलादेशमा कडा कदम : पूर्वप्रधानमन्त्री शेख हसिनासम्बन्धी समाचार प्रकाशनमा प्रतिबन्ध

काठमाडौ । बंगलादेशमा राजनीतिक अशान्ति झन् गहिरिँदै गएको छ। अन्तरिम सरकारले देशका सबै पत्रपत्रिका, टेलिभिजन र अनलाइन सञ्चारमाध्यमलाई पूर्वप्रधानमन्त्री शेख हसिनासम्बन्धी कुनै पनि अभिव्यक्ति, बयान वा टिप्पणी प्रसारण–प्रकाशन नगर्न कडा निर्देशन जारी गरेको छ।

सरकारले यसलाई राष्ट्रिय सुरक्षासम्बन्धी संवेदनशील स्थिति भन्दै समाचार प्रकाशन तथा प्रशारणमा रोक लगाएको हो ।राष्ट्रिय साइबर सुरक्षा एजेन्सीले सोमबार सार्वजनिक गरेको विज्ञप्तिमा हसिनालाई दोषी र फरार घोषणा गरेको छ।

एजेन्सीका अनुसार उनले विभिन्न माध्यममार्फत दिएको अभिव्यक्तिले हिंसा बढाउने, सामाजिक सद्भाव कमजोर पार्ने र देशमा अस्थिरता झनै चर्काउने जोखिम भएकाले रोक लगाइएको हो।

यसैबीच, अन्तरिम सरकारले अब शेख हसिना र पूर्वगृहमन्त्री असदुज्जमान खान कमललाई बंगलादेश फिर्ता ल्याउन इन्टरपोलको सहयोग लिने तयारी गरेको छ।

अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरण का अभियोजक गाजी एमएच तमिमले अदालतको फैसला र पक्राउ–वारेन्टको प्रतिलिपि परराष्ट्र मन्त्रालयमार्फत इन्टरपोलमा बुझाउने प्रक्रिया सुरु भएको जानकारी दिएका छन्।

बंगलादेशको अदालतले सोमबार दुवै नेताविरुद्ध मृत्युदण्डको फैसला सुनाएको थियो। यो फैसला आणि त्यसपछिका सरकारी कदमले देशको राजनीतिक परिस्थितिलाई झन गम्भीर बनाएको छ। सञ्चारमाध्यममाथिको प्रतिबन्धले अभिव्यक्ति स्वतन्त्रता र लोकतान्त्रिक प्रक्रियामाथि पनि प्रश्न उठाइरहेको छ।