एनपीएल : काठमाडौं गुर्खाज र सुदूरपश्चिम रोयल्स आज आमनेसामने
Prime TV News एक दिन अगाडि 
काठमाडौ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज काठमाडौं गुर्खाज र सुदूरपश्चिम रोयल्स बिच प्रतिस्पर्धा हुँदैछ।
कठमाडौंले सोमबारको उद्घाटन खेलमा साविक विजेता जनकपुरलाई पाँच विकेटले हराउँदै सानदार सुरुवात गरिसकेको छ। यस जितसँगै दोहोरो उत्साहमा रहेको काठमाडौं आजको खेलमा पनि उत्कृष्ट प्रदर्शन दोहोर्याउने प्रयासमा छ।
कप्तान करण केसीको नेतृत्वमा अनुभव, विदेशी शक्ति र मनोबल सबै पक्षबाट काठमाडौं मजबुत बनेको छ। काठमाडौंको टिममा नामिबियाका कप्तान जेरार्ड एरासमस, इंग्ल्याण्डका जोन सिम्पसन र बेन चाल्र्सवर्थ, दक्षिण अफ्रिकाका रिकार्डो भासक्नसेलोस, अमेरिका मिलिन्द कुमार र भारतका सन्नी पटेल जस्ता महत्वपूर्ण विदेशी खेलाडी छन्।
पहिलो खेलमा मिलिन्द कुमारले देखाएको प्रदर्शन विशेष चर्चामा छ। बलिङतर्फ कप्तान केसीसँगै शाहव आलम, दीपेश कँडेल, नटराजन शाह र तुलबहादुर थापाको संयोजन काठमाडौँको मुख्य बल रहन्छ।
उता, सुदूरपश्चिम रोयल्स साविक उपविजेता टोली हो। पहिलो सिजनको फाइनलमा जनकपुरसँग पराजित भएको यो टोली यसपटक बलियो पुनरागमनको प्रयासमा छ।
कप्तान दीपेन्द्रसिंह ऐरी नेतृत्वमा रहेको सुदूरपश्चिमले अघिल्लो सिजनका विदेशी बलिङ अलराउन्डर स्कट कुगेइलिन र अमेरिकाका हर्मित सिंहलाई यसपटक पनि निरन्तरता दिएको छ। साथै अष्ट्रेलियाका जोश ब्राउन र क्रिस लिन समेत टोलीमा छन्।
स्थानीय खेलाडीमा विनोद भण्डारी, आरिफ शेख, अविनाश बोहरा, हेमन्त धामी, हिम्मत महरा, ईशान पाण्डे र नरेन साउद जस्ता खेलाडी समावेश छन्। टोलीको बल मुख्यतः ऐरीको प्रदर्शनमा नै निर्भर हुने अपेक्षा गरिएको छ।
एनपीएलका सबै खेल कीर्तिपुरमा दिउँसो र रात्री समयमा भइरहेका छन् ।













