एमालेले गर्यो प्रतिनिधिसभा विघटनविरुद्ध दुई किसिमका संघर्ष अघि बढाउने घोषणा
Prime TV News २ दिन अगाडि 
काठमाडौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटनलाई पूर्ण रूपमा असंवैधानिक भन्दै पार्टीले दुई किसिमका संघर्ष अघि बढाउने घोषणा गरेका छन्।
मंगलवार विघटित एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले कानुनी लडाइँ र सडक आन्दोलन दुवैमार्फत प्रतिवाद गर्ने बताए। अध्यक्ष ओलीले एमालेले आरम्भ गर्ने सडक संघर्ष हिंसात्मक नभई संवैधानिक र शान्तिपूर्ण हुने बताए ।
यस्तै आन्दोलनको उद्देश्य जनताको ज्यान धनको सुरक्षा सुनिश्चित गर्दै संविधानको रक्षा गर्ने रहेको स्पष्ट पारे। ओलीले हालको सरकारलाई “असंवैधानिक” संज्ञा दिँदै यसले देशलाई अन्धकारतर्फ धकेल्ने” कार्य गरेको आरोप लगाए।
विगत भदौ २३ र २४ गतेका गतिविधिलाई उनले देशलाई अस्थिरतामा धकेल्ने प्रारम्भिक बिन्दुका रूपमा चित्रण गर्दै भने “देशद्रोही गतिविधिमा समेत चुप लागेर बस्ने हो भने राजनीतिक पार्टी खोल्ने औचित्य नै हुँदैन,”।
उनले प्रतिनिधिसभाको पुनर्स्थापनाबाहेक अन्य कुनै विकल्प संविधानले नदिने दाबी समेत गरे। “संविधान पल्टाएर धेरैपटक हेरे, यो पूर्ण रूपमा असंवैधानिक कदम हो,” ओलीले भने, “यसको अन्तिम समाधान न्यायालयबाटै हुन्छ। संविधानिक परीक्षण अपरिहार्य छ।” एमालेले निकट भविष्यमा सडक तहदेखि कानुनी संरचना भित्रसम्म दुवै मोर्चामा सक्रिय भूमिका खेल्ने अध्यक्ष ओलीको भनाइ छ।













