जेनजी आन्दोलनका घाइतेलाई राहत, विदेशी अनुदान स्वीकृत, नेप्से पुनर्संरचना समिति गठन

User Image Prime TV News २ दिन अगाडि
Image of जेनजी आन्दोलनका घाइतेलाई राहत, विदेशी अनुदान स्वीकृत, नेप्से पुनर्संरचना समिति गठन

काठमाडौ । सिंहदरबारमा बसेको मंगलबारको मन्त्रिपरिषद् बैठकले जेनजी आन्दोलनका घाइतेलाई राहत प्रदानदेखि लिएर विदेशी अनुदान स्वीकृति र संस्थागत पुनर्संरचनासम्मका महत्वपूर्ण निर्णयहरू गरेको छ।

सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलका अनुसार सरकारले जनजी आन्दोलनका २ हजार ४२९ घाइतेलाई जनही १५ हजार रुपैयाँ राहत दिन निर्णय गरेको छ। सरकारले आन्दोलनका क्रममा घाइते भएका नागरिकको उपचार तथा आर्थिक बोझ कम गर्न यो व्यवस्था गरेको बताइएको छ।

यसैगरी, बैठकले प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रमका लागि प्राप्त हुने नर्वे सरकारको करिब ५ मिलियन अमेरिकी डलर तथा स्विट्जरल्यान्ड सरकारको करिब २.१ मिलियन अमेरिकी डलर बराबरको थप अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ।

सरकारले उक्त सहयोग सुशासन, क्षमता विकास तथा स्थानीय स्तरको सेवा प्रवाह सुदृढीकरणमा महत्वपूर्ण बन्ने विश्वास व्यक्त गरेको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) को संरचनात्मक सुधारतर्फ अघि बढ्दै, सरकारले प्रकाशजंग केसीको संयोजकत्वमा सुझाव समिति गठन गर्ने निर्णय गरेको छ।

यो समितिले आवश्यक अध्ययन गरी नेप्सेको पुनर्संरचनाबारे सुझाव पेस गर्नेछ। यस्तै पदयात्रा अनुमति प्रकरणमा पनि महत्वपूर्ण परिवर्तन गर्दै सरकारले माथिल्लो मुस्ताङ क्षेत्रका लागि विदेशी नागरिकलाई लाग्ने पदयात्रा अनुमति दस्तुर प्रति व्यक्ति प्रति दिन ५० अमेरिकी डलर कायम गर्ने निर्णय गर्दै अध्यागमन नियमावलीमा आवश्यक संशोधन गर्ने भएको छ।

यस्तै, सहिद धर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्रको कार्यकारी निर्देशकमा डा. कल्पना कुमारी श्रेष्ठलाई नियुक्त गर्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ।