अधिवेशन विवाद चर्किँदै जाँदा गगन थापाको कडा सन्देश: “हामी न झुक्छौँ, न झुक्किन्छौँ”

User Image Prime TV News २ दिन अगाडि
Image of अधिवेशन विवाद चर्किँदै जाँदा गगन थापाको कडा सन्देश: “हामी न झुक्छौँ, न झुक्किन्छौँ”

काठमाडौ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीभित्र चलेको अधिवेशन विवादबीच आफूहरू सुधारको बाटोबाट नहट्ने स्पष्ट संकेत दिएका छन्।

उनले मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत भिडियो सन्देश जारी गर्दै कांग्रेस अहिले निर्णायक मोडमा रहेको र पुरानै ढङ्गले पार्टी चल्न नसक्ने टिप्पणी गरेका छन् । थापाले निर्धारित समयअनुसार पुस १६ देखि नियमित महाधिवेशन नगर्ने अवस्था आएमा कांग्रेस विशेष महाधिवेशनमा जान बाध्य हुने धारणा दोहोर्‍याए।

उनका अनुसार अहिलेको विवाद केवल मिति तोक्ने विषयमै सीमित छैन, पार्टीको संरचना, कार्यशैली र नेतृत्वमा आवश्यक सुधारबारे गम्भीर बहस चलिरहेको बताएका छन् ।

“नागरिकले दिएको सन्देश स्पष्ट छ, पुरानै शैलीले अब काम चल्दैन। सुधार गरेर मात्र विश्वास फर्किन्छ,” उनले भने, “हामी न झुक्छौँ, न झुक्किन्छौँ।” भिडियो सन्देशमार्फत थापाले पार्टीका नेता कार्यकर्तालाई धैर्य र संयमता अपनाउन आग्रह समेत गरेका छन् ।

उनले आगामी प्रतिनिधिसभा निर्वाचनमा कांग्रेस नयाँ ऊर्जा, नयाँ शैली र सुधारिएको चरित्रसहित प्रवेश गर्ने दाबी गरे। “सत्यको पक्षमा उभिँदा पार्टी फुट्दैन, अझ बलियो बन्छ,” थापाले भने, “हामी सुधारका एजेन्डाबाट पछि फर्किन्नौँ।” कांग्रेसभित्र अधिवेशन प्रक्रियालाई लिएर अहिले नेतृत्व तहमै मतभेद देखिँदा आन्तरिक राजनीति तातिरहेको छ।

नेपाली कांग्रेस भित्र पार्टी महाधिवेशन निर्वाचन अघि र पछि भन्ने विवाद रहदै आएको छ ।