अमेरिकाले साउदीलाई एफ–३५ लडाकु जेट बेच्ने अनुमति दियो, मध्यपूर्व भू–राजनीति हलचलमा

User Image Prime TV News २ दिन अगाडि
Image of अमेरिकाले साउदीलाई एफ–३५ लडाकु जेट बेच्ने अनुमति दियो, मध्यपूर्व भू–राजनीति हलचलमा

काठमाडौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले साउदी अरबलाई एफ–३५ लडाकु जेट बिक्रीको अनुमति दिएका छन् ।

साउदी क्राउन प्रिन्स मोहम्मद बिन सलमानको सात वर्षपछि पहिलो अमेरिकी भ्रमणको ठीक अगाडि ट्रमप्पले लडाकु विमान बिक्रीको अनुमती दिएका हुन् । ट्रम्पले साउदीलाई अमेरिकाको महत्त्वपूर्ण रणनीतिक साझेदार भन्दै लडाकु जेट बिक्रीको निर्णयलाई दुई देशबीचको दीर्घकालीन सुरक्षा र आर्थिक साझेदारीको संकेतको रूपमा प्रस्तुत गरेका छन्।

उनले भने, “हामी साउदी अरबलाई एफ–३५ जेट बेच्नेछौं। यो हाम्रो मित्रता र साझेदारीलाई अझ बलियो बनाउने कदम हो।” यो निर्णय सम्झौताहरूलाई मध्यपूर्वमा विस्तार गर्ने अमेरिकी प्रयाससँग सम्बन्धित रहेको बताइएको छ।

ट्रम्प प्रशासनले साउदी अरब चाँडै अब्राहम सम्झौतामा सहभागी हुने र  जसले क्षेत्रीय शान्ति र स्थिरतालाई सुदृढ बनाउने आशा व्यक्त गरेको छ । साउदी अरबले प्यालेस्टिनका लागि स्वतन्त्र राज्यको सुनिश्चित मार्ग नखुलेसम्म सम्झौतामा सहभागी नहुने स्पष्ट पारेको छ।

इजरायलले यो सर्त अस्वीकार गरेकोले सम्भावित सम्झौतामा विवाद र ढिलाइ देखिन्छ। पूर्व सन्दर्भअनुसार, सन् २०२० मा ट्रम्प प्रशासनले संयुक्त अरब इमिरेट्सलाई ५० वटा एफ–३५ जेट बेच्ने योजना बनाएको थियो । तर राजनीतिक विवाद र प्रक्रियागत जटिलताका कारण ती सम्झौता रोकिएको थियो।

नयाँ घोषणा यसलाई पूरक बनाउँदै अमेरिकी भू–राजनीतिक प्राथमिकता, सैन्य बिक्री, र मध्यपूर्व शान्ति पहललाई एकसाथ अघि बढाउने प्रयासको रुपमा हेरिएको छ ।