नेपाली कम्युनिस्ट पार्टीमा आज जिम्मेवारी बाँडफाँट टुंग्याउने तयारी
Prime TV News २ दिन अगाडि 
काठमाडौ । नवगठित नेपाली कम्युनिस्ट पार्टीले नेतृत्व तहको जिम्मेवारी बाँडफाँटलाई आज बस्ने अनौपचारिक बैठकमार्फत अन्तिम रूप दिने तयारी गरेको छ। संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपाल सहितका शीर्ष नेताहरू दिउँसो २ बजे पेरिसडाँडामा छलफल गर्ने बताइएको छ ।
नेकपाका नेताका अनुसार बैठकमा सहभागी हुने अन्य नेताहरूको सूची भने अझै निश्चित छैन। “संयोजक र सहसंयोजकले आवश्यक ठानेका नेताहरूलाई बोलाउनेछन्,” उनले बताए। प्रचण्डले सोमबार नै जिम्मेवारी बाँडफाँट आजै टुंग्याइने घोषणा सार्वजनिक गरेपछि पार्टीभित्र नेतृत्व संरचना कसरी बन्ने हो भन्ने विषयमा चासो बढेको छ ।
हालसम्म पार्टीमा संयोजक र सहसंयोजक टुंगिएका छन् भने बाँकी पद सचिवालयका सदस्य, विभागीय प्रमुख, संगठन तथा प्रचार–प्रसारसम्बन्धी जिम्मेवारी टुङ्गो लागेको छैन । नवगठित पार्टी तत्कालीन नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) लगायत दल र समूहहरूको एकीकरणबाट बनेको हो।
नेतृत्व संरचना स्पष्ट भएपछि पार्टीले औपचारिक रूपमा संगठन विस्तार र कार्ययोजना निर्माणमा प्रवेश गर्ने बताइएको छ।













