मतदाता डेटा सुरक्षित र अनधिकृत ब्यक्तिको पहुँचमा छैनः निर्वाचन आयोग

User Image Prime TV News २ दिन अगाडि
Image of मतदाता डेटा सुरक्षित र अनधिकृत ब्यक्तिको पहुँचमा छैनः निर्वाचन आयोग

काठमाडौ । निर्वाचन आयोगले आफ्नो वेबसाइट र मतदाता नामावली सूचना प्रणालीमा कुनै पनि अनधिकृत ब्यक्तिको पहुँच नभएको स्पष्ट गरेको छ। हालै केही सञ्चार माध्यम तथा सामाजिक सञ्जालमा आयोगको सूचना प्रणाली ह्याक गरिएको वा मतदाता सम्बन्धी विवरण चोरी भएको जस्ता दाबीहरू फैलिन थालेपछि आयोगले विज्ञप्ति जारी गर्दै ती सबै दाबीहरू आधारहीन र भ्रामक रहेको बताएको हो।

आयोगले प्रकाशित गरेको सूचनामा भनिएको छ, “निर्वाचन आयोगको वेबसाइट तथा मतदाता नामावलीसम्बन्धी सूचनाहरूमा कुनै पनि अनधिकृत व्यक्तिको पहुँच पुगेको छैन। सूचना प्रणाली पूर्ण रूपमा सुरक्षित छ र गोप्य राख्नुपर्ने नागरिक विवरणको सुरक्षामा आयोग पूर्ण रूपमा प्रतिबद्ध छ।”

आयोगका अनुसार सूचना प्रविधि सम्वद्ध विज्ञहरूको टोलीले नियमित रूपमा प्रणालीको अनुगमन गर्दै जोखिम विश्लेषण गर्ने र आवश्यक सबै सुरक्षा उपाय अवलम्बन गर्ने कार्य गर्दै आएको छ। यसले सम्भावित साइबर जोखिमबाट मतदाता डेटा बचाउन निरन्तर सुरक्षा सतर्कता अपनाइरहेको आयोगले जनाएको छ।

सामाजिक सञ्जालमा प्रसारित केही पीडीएफ फाइलहरूबारे पनि आयोगले स्पष्ट गर्दै ती फाइलहरू निर्वाचन प्रयोजनका लागि विगतमा कानुनसम्मत रूपमा निर्वाचन कार्यालय र राजनीतिक दलहरूलाई उपलब्ध गराइएका सामान्य सूचनामात्र भएको जनाएको छ। ती फाइललाई वर्तमानमा डेटा चुहावट भएको भनी प्रस्तुत गर्नु भ्रामक भएको आयोगको भनाइ छ।