बंगलादेशले भारतलाई भन्यो, हसिना र कमाल तुरुन्तै फिर्ता पठाऊ
Prime TV News २ दिन अगाडि 
काठमाडौ । बंगलादेशले भारतमा बसिरहेको पूर्वप्रधानमन्त्री शेख हसिना र पूर्वगृहमन्त्री असदुज्जमान खान कमाललाई तुरुन्त फिर्ता पठाउन भारतीय सरकारलाई औपचारिक माग गरेको छ।
अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणले दुवै जनालाई मानवताविरुद्धका अपराधमा दोषी ठहर गर्दै मृत्युदण्ड सुनाएपछि ढाकाले कूटनीतिक दबाब तीव्र पारेको हो।
बंगलादेशको विदेश मन्त्रालयले जारी गरेको वक्तव्यमा हसिना र कमाललाई “फरार दोषी” भन्दै कुनै देशले उनीहरूलाई आश्रय दिनु न्यायप्रणालीको अपमान हुने चेतावनी दिएको छ।
वक्तव्यमा उल्लेख छ, “मानवताविरुद्धका अपराधमा दोषी ठहरिएका व्यक्तिलाई कुनै पनि देशले शरण दिनु मित्रतापूर्ण सम्बन्ध र न्याय दुवैको अवमूल्यन हुनेछ।”
ढाकाले भारतलाई दुवै व्यक्तिलाई तुरुन्तै समर्पण गर्न अन्तर्राष्ट्रिय दायित्व पूरा गर्न आग्रह गरेको छ। पूर्वप्रधानमन्त्री हसिना र पूर्वगृहमन्त्री कमाल हाल केही महिनादेखि भारतमा रहेको बताइन्छ।













