उपत्यका मेयरसँग प्रधानमन्त्री कार्कीको भेट : स्थानीय समस्या समाधानमा सहकार्यको प्रतिवद्धता
Prime TV News ३ दिन अगाडि 
काठमाडौ । प्रधानमन्त्री सुशीला कार्कीले मंगलवार साँझ काठमाडौँ उपत्यकाका मेयरहरूसँग भेटवार्ता गरी स्थानीय तहले सामना गरिरहेका प्रमुख समस्या तथा आगामी निर्वाचन तयारीबारे छलफल गरेकी छन्।
बालुवाटारमा सम्पन्न उक्त भेटमा काठमाडौँ, भक्तपुर र ललितपुर जिल्ला भित्रका नगरपालिकाका प्रमुखहरूले सरकारको नेतृत्वमा हुने निर्वाचनमा सहयोग गर्न प्रतिवद्ध रहेको जनाएका थिए।
मेयरहरूले भेटका क्रममा फोहोर व्यवस्थापन, सडक बत्तीको बक्यौता, जेनजी आन्दोलनपछि उत्पन्न सुरक्षा चुनौती, अधुरो विकास आयोजना, बजेट कटौती र संघ- स्थानीय तह विचको समन्वयको अभावजस्ता समस्या विस्तृत रूपमा प्रस्तुत गरेका थिए।
ललितपुरका प्रमुख चिरिबाबु महर्जनले सडक बत्तीको वर्षौँदेखिको बक्यौता सरकारले छिटो टुंगो लगाउनुपर्ने माग राखे। उनले सडक बत्ती मर्मत तथा संचालन खर्च ६० प्रतिशत स्थानीय तह र ४० प्रतिशत संघीय सरकारले व्यहोर्ने व्यवस्था गर्नुपर्ने प्रस्ताव अघि सारे।
बूढानीलकण्ठका प्रमुख मिठाराम अधिकारीले जेनजी आन्दोलनसँग प्रत्यक्ष सम्बन्ध नभएका व्यक्तिहरूले घर–घरमा लुटपाट गरेका घटनामा कानुनी कारबाही कमजोर भएको भन्दै चिन्ता व्यक्त गरे।उनले पक्राउ परेका व्यक्तिहरू अदालत र प्रहरी प्रक्रियाबाट सहजै छुटिरहेको उल्लेख गर्दै कडाइका साथ कारबाही गर्न आग्रह गरे।
टोखाका मेयरले टोखाछहरे सडक चौढाइका लागि स्थानीयलाई उचित मुआब्जा दिन सरकारबाट निर्णय आवश्यक रहेको बताए। उक्त निर्णय दलगत सरकारका लागि जटिल हुने भएकाले प्राविधिक सरकारकै समयमा समाधान खोजिनुपर्ने धारणा उनले अघि सारे।
कीर्तिपुरका मेयरले त्रिभुवन विश्वविद्यालय क्षेत्रको जग्गामा बसपार्क, अस्पताल र प्रशासनिक भवन निर्माणका लागि संघीय अनुमति आवश्यक रहेको बताउँदै छिटो निर्णयको अपेक्षा व्यक्त गरे। चाँगुनारायणका मेयरले लामो समयदेखि रोकिएको सल्लाघारी–कमलविनायक–नगरकोट सडक निर्माण कार्यलाई प्राथमिकतामा राखी शीघ्र सम्पन्न गराउन आग्रह गरे।
धेरै स्थानीय प्रतिनिधिहरूले संघीय सरकारले ३ करोडभन्दा कमका योजना कटौती गरेपछि विकास निर्माणका काममा अवरोध भएको गुनासो पनि राखे।
प्रधानमन्त्री कार्कीले आफू निर्वाचनमा केन्द्रित रहेको बताउँदै चुनावी सरकारका सीमितता बीच स्थानीय समस्या समाधानमा कति कदम चाल्न सकिन्छ भन्नेबारे अध्ययन गरेर अघि बढ्ने आश्वासन दिइन्। उनले देशको वर्तमान जटिल अवस्थाको समाधान सबै तहका नेतृत्व र नागरिकको सामूहिक प्रयासबाट मात्रै सम्भव हुने उल्लेख गरिन्।













