साविक विजेता जनकपुर बोल्ट्सलाई पराजित गर्दै काठमाडौं गोर्खाजको विजयी सुरुआत

User Image Prime TV News ३ दिन अगाडि
Image of साविक विजेता जनकपुर बोल्ट्सलाई पराजित गर्दै काठमाडौं गोर्खाजको विजयी सुरुआत

काठमाडौ । साविक विजेता जनकपुर बोल्ट्सलाई पराजित गर्दै काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल) को नयाँ संस्करणमा विजयी सुरुआत गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमा पाँच विकेट गुमाएर पूरा गर्‍यो।

काठमाडौँका लागि वेन चार्ल्सवर्थले सर्वाधिक ४६ रन बनाए। २३ बलमा पाँच चौका र तीन छक्का परेको उनको पारीलाई जनकपुरका बलर लफ्टी-इटोनले कट एन्ड बोल्ड गर्दै रोक्न सफल भए। आकाश त्रिपाठीले ३९ रन जोड्दा भीम सार्की तीन रनमै आउट भए। मिलिन्द कुमार १९ रन, जोन सिम्पसन १३ रनमा पभेलियन फर्के। मोहम्मद आदिल आलम आठ र जेरहार्ड इरसमस एक रनमा अविजित रहे।

जनकपुरका ललित राजवंशी, लफ्टी–इटोन, सञ्जय कृष्णमूर्ती, अनिल साह र किशोर महतोले एक–एक विकेट लिए। पहिले ब्याटिङ गर्दा जनकपुरले २० ओभरमा ६ विकेटको क्षतिमा १३० रन केवल जोड्न सक्यो। प्रारम्भिक ब्याटर आशिफ शेखले ४१ बलमा ५४ रन बनाउँदै पारी सम्हाले। मयन यादव ३४ रनमा अविजित रहे। लाहिरु समरकुन २२ रनमा आउट भए भने कप्तान अनिल साह शून्यमै फर्किए।

काठमाडौँका मिलिन्द कुमार उत्कृष्ट प्रदर्शनसहित प्लेयर अफ द म्याच बने। उनले चार ओभरमा १५ रन खर्चेर तीन विकेट लिए र ब्याटिङमा पनि उपयोगी १९ रन जोडे।

एनपीएल प्रतियोगिता प्रधानमन्त्री सुशीला कार्कीले सोमबार उद्घाटन गरेकी थिइन्। उद्घाटन अवसरमा हेलिकप्टरबाट पुष्पवृष्टि गरिएको थियो। नेपाल क्रिकेट संघका अनुसार उद्घाटन खेलमा नौ हजार पाँच सय दर्शक उपस्थित थिए।

मंगलबार दुई खेल हुँदैछन्। पहिलो खेल बिहान ११:४५ बजे चितवन राइनोज र कर्णाली याक्सबीच हुनेछ। दोस्रो खेल अपराह्न ४ बजे विराटनगर किंग्स र पोखरा एभेन्जर्स आमनेसामने भिड्ने कार्यक्रम छ।