जेनजीलाई मन्त्री पुनको सन्देश: आफ्नो सरकार बनाउनु र आफ्नो माग पुरा गर्नु
Prime TV News ३ दिन अगाडि 
काठमाडौ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले जेनजी २.० का युवाहरूलाई गाउँ फर्केर सक्रिय रूपमा राजनीति गर्न र आफ्नै सरकार बनाएर मात्र माग पूरा गर्न भनेका छन् । सोमबार सिंहदरबारस्थित मन्त्रालयमा जेनजी २.० ले बुझाएको ज्ञापनपत्र ग्रहण गर्दै उनले यस्तो बताएका हुन् ।
मन्त्री पुनले भने, “यहाँ क्यामेरा तेर्साएर बस्ने होइन। आफ्नो गाउँमा गएर युवा नेताहरूलाई तयार पार्नुपर्छ। यसपछि मात्र तपाईंहरूको माग पूरा हुनेछ। केही मागहरू विचार गर्न सकिन्छ, तर सबै पूरा गर्न सम्भव छैन।”
मन्त्री पुनले अब युवाहरूले केवल माग राखेर बस्ने होइन, सक्रिय रूपमा गाउँ फर्केर नेतृत्व गर्ने र निर्वाचनमा भाग लिएर आफ्नो सरकार बनाउनु आवश्यक रहेको बताए ।
जेनजी २.० ले माग गरेको प्रमुख विषयहरूमा १६ वर्षको उमेरमा एसईई पास गरी सीटीईभीटीमा भर्ना हुन पाउने, देश-विदेशमा काम गर्ने अवसर, प्राविधिक शिक्षासँग सम्बन्धित समस्याहरूको समाधान तथा स्टाफ नर्स पढ्न चाहने १० हजार विद्यार्थीको व्यवस्था समावेश छन्। जेनजीले माग पूरा नभए सीटीईभीटी जिम्मेवार हुने चेतावनी पनि दिएको छ।













