बंगलादेशमा छात्र आन्दोलन दमन आरोपमा शेख हसिनालाई मृत्युदण्ड
Prime TV News ३ दिन अगाडि 
काठमाडौ । बंगलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणले सोमबार तत्कालीन प्रधानमन्त्री शेख हसिनालाई मानवताविरुद्धको अपराधको दोषी ठहर गर्दै मृत्युदण्ड सुनाएको छ।
अदालतको तीन सदस्यीय इजलासले न्यायाधीश गुलाम मुर्तजा, मोहम्मद अफीउल आलम महमुद र मोहम्मद मोहितुल हक एनाम चौधरीको नेतृत्वमा फैसला सुनाएको हो। अदालतले हसिनाले विद्यार्थी आन्दोलन दबाउन सुरक्षा निकायहरूलाई सक्रिय रूपमा प्रयोग गरेकी ठहर गरेको छ ।
प्रदर्शनकारीलाई पहिचान गर्न र नियन्त्रण गर्न ड्रोनको प्रयोग गर्न अनुमति र हेलिकोप्टरमार्फत आन्दोलनकारीको भेला भएको स्थानमा बम खसाल्न समेत निर्देशन दिएको इजलासले ठहर गरेको छ । उक्त मुद्दामा तत्कालीन गृहमन्त्री र प्रहरी महानिरीक्षक समेत विपक्षी बनाइएको थियो ।
अदालतले तीनै जनालाई दोषी ठहर गर्दै मानवताविरुद्धको अपराध गरेको ठहर गरेको हो । फैसला सुनाउँदा अदालतले ५४ जनाको बयानलाई प्रमाणको रूपमा आधार मानेको जनाएको छ। तर शेख हसिना स्वयं अदालतको सुनुवाइमा उपस्थित हुन सकिनन् । उनी हाल भारतमा छिन् ।
शेख हसिनाको पक्षले यो प्रक्रिया राजनीतिक रूपले प्रेरित भएको आरोप लगाएको छ भने मानवअधिकार समूहहरूले घटना र अनुसन्धानबारे मिश्रित प्रतिक्रिया दिएका छन्।













