नयाँ मतदाता दर्ता प्रक्रिया तीव्र: ५ लाख नजिक नयाँ मतदाता दर्ता

User Image Prime TV News ३ दिन अगाडि
Image of नयाँ मतदाता दर्ता प्रक्रिया तीव्र: ५ लाख नजिक नयाँ मतदाता दर्ता

काठमाडौ । निर्वाचन आयोगका अनुसार राष्ट्रिय परिचयपत्र र बायोमेट्रिक्स मार्फत ठूलो संख्यामा नयाँ मतदाता नामावलीमा दर्ता भएका छन्।

आयोगको तथ्यांकअनुसार, राष्ट्रिय परिचयपत्रमार्फत २ लाख २५ हजार ५७५ जनाले र बायोमेट्रिक्समार्फत ३ लाख २ हजार ६२ जनाले नयाँ मतदाता दर्ता गराइसकेका छन्। यो तथ्यांक नयाँ मतदाता नामावली संकलन खुला भएकोदेखि कात्तिक ३० गतेसम्मको हो। कुल दर्ता भएका मतदाताको संख्या करिब ५ लाख २७ हजार ६३७ पुगेको छ।

निर्वाचन आयोगले जनाए अनुसार नामावली दर्ता प्रक्रिया मंसिर ५ गतेसम्म जारी रहनेछ। साथै, सरकारले राष्ट्रिय परिचयपत्र भएका व्यक्तिहरूका लागि अनलाइनमार्फत पनि दर्ता गर्न सकिने व्यवस्था मिलाएको छ।

आयोगले सबै योग्य नागरिकलाई आफ्ना मतदाता दर्ता सुनिश्चित गर्न समयमा प्रक्रिया पूरा गर्न आह्वान गरेको छ।