एनपीएल उद्घाटन खेलमा जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाज आमनेसामने

User Image Prime TV News ३ दिन अगाडि
Image of एनपीएल उद्घाटन खेलमा जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाज आमनेसामने

काठमाडौ । नेपाली क्रिकेटको बहुप्रतिक्षित फ्रेन्चाइज लिग ‘नेपाल प्रिमियर लिग (एनपीएल)’ दोस्रो संस्करण आज सोमबारदेखि सुरु हुँदैछ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने उद्घाटन खेलमा साविक विजेता जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाज आमनेसामने हुनेछन्।

अघिल्लो संस्करणको राउन्ड रोबिन लिगमा जनकपुरले काठमाडौंलाई पाँच विकेटले पराजित गरेको थियो। जनकपुरलाई सहज जित दिलाउन जिमी निसमले सर्वाधिक २७ रन बनाएका थिए। जनकपुर यस पटक पनि अनिल साहको कप्तानीमा मैदानमा उत्रिँदै छ। मार्की खेलाडी आसिफ शेख भए पनि जनकपुरले कप्तानको जिम्मेवारी भने अनिललाई दिएको हो।

यसैगरी काठमाडौंको कप्तानी यस पटक पनि करण केसीले गर्दैछन्। जनकपुरमा कप्तान अनिल र आसिफसँगै शुभ कंसाकार, मायान यादव, आदित्य महतो, विकास आग्री, ललित राजवंशी, सचिन भट्ट, तुलबहादुर थापा छन्।

यस्तै विदेशी खेलाडीमा दक्षिण अफ्रिकाका इमरान ताहिर, नामिबियाका जान निकोल लफ्टी इटन, अमेरिकाका लाहिरू मिलान्था र दक्षिण अफ्रिकाका वायन पार्नेललाई अनुबन्ध गरेको छ। जनकपुरले वेस्ट इन्डिजका दिग्गज खेलाडी शिवनारायण चन्द्रपललाई प्रशिक्षकको जिम्मेवारी दिएको छ।

एनपीएलको पहिलो संस्करणमा सुदूर रात्री रुपमा सञ्चालन हुनेछ। सिंगल राउन्ड रोबिनका आधारमा हुने एनपीएलमा लिग चरणमा कुल २८ खेल हुनेछ। लिग चरणपछि शीर्ष चारमा रहने टोली प्लेअफमा प्रवेश गर्नेछन्। जहाँ पहिलो र दोस्रो हुने टिमबीच पहिलो क्वालिफायर हुनेछ।

यस खेलको विजेताले सिधै फाइनल स्थान बनाउने छ भने तेस्रो र चौथो हुने टोलीले एलिमिनेटर खेल खेल्नेछन्। एलिमिनेटरमा पराजित हुने टोली बाहिरिँदा एलिमिनेटरको विजेता र पहिलो क्वालिफायरको पराजित टोलीबीच दोस्रो क्वालिफायर खेल हुनेछ। यसको विजेताले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ। फाइनल खेल मंसिर २७ गते हुनेछ।