टीयू क्रिकेट मैदान वरपर भीड नियन्त्रण गर्न प्रहरीको आग्रह

User Image Prime TV News ३ दिन अगाडि
Image of टीयू क्रिकेट मैदान वरपर भीड नियन्त्रण गर्न प्रहरीको आग्रह

काठमाडौ । त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आजदेखि सुरु हुन लागेको नेपाल प्रिमियर लिगमा दर्शकहरूको भीड बढ्ने सम्भावना रहेकाले नेपाल प्रहरीले टिकट नभएका व्यक्तिहरूलाई मैदान वरपर अनावश्यक भीडभाड नगर्न अनुरोध गरेको छ।

प्रहरीका अनुसार उद्घाटन खेलका लागि उपलब्ध सबै टिकट सकिइसकेका छन्। सुरक्षा व्यवस्थापनलाई प्रभावकारी बनाउन भीड नियन्त्रण अत्यावश्यक रहेको भन्दै प्रहरीले सार्वजनिक सूचना जारी गरी सहयोगका लागि आग्रह गरेको छ।

आज साँझ ४ बजे हुने उद्घाटन खेलमा काठमाडौं गोर्खाज र साविक विजेता जनकपुर बोल्ट्स आमनेसामने हुनेछन्। टीयू मैदानमा पहिलोपटक फ्लडलाइटमा खेल हुन लागेकाले प्रतियोगिताप्रति दर्शकको आकर्षण झनै बढेको छ।

एनपीएलमा काठमाडौं गोर्खाज, जनकपुर बोल्ट्स, सुदूरपश्चिम रोयल्स, चितवन राइनोज, विराटनगर किङ्स, लुम्बिनी लायन्स, पोखरा एभेन्जर्स, कर्णाली याक्स ८ फ्रेन्चाइज टिम प्रतिस्पर्धामा छन् । प्रतियोगिता सुरु हुने दिनमै टिकट सकिनु, फ्लडलाइटमा पहिलो खेल र नयाँ तथा पुराना खेलाडीहरूको उपस्थिति कारण यसपटकको एनपीएललाई विशेष उत्साह र चासो बढेको हो ।