वर्षौंदेखि अलपत्र रुग्ण ठेक्का रद्द, २५ निर्माण व्यवसायीमाथि कारबाही प्रक्रिया सुरु

User Image Prime TV News ३ दिन अगाडि
Image of वर्षौंदेखि अलपत्र रुग्ण ठेक्का रद्द, २५ निर्माण व्यवसायीमाथि कारबाही प्रक्रिया सुरु

काठमाडौ । सडक निर्माणका लागि सम्झौता गरेर पनि वर्षौंदेखि काम नगरी आयोजना अलपत्र पार्ने निर्माण व्यवसायीविरुद्ध सरकार कठोर बनेको छ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङको पहलमा सडक डिभिजन कार्यालय काठमाडौंले सोमबार २५ वटा रुग्ण ठेक्का रद्द गर्ने सूचना जारी गरेको हो। यी सबै ठेक्का आर्थिक वर्ष २०६७/६८ देखि २०७९/८० बीचमा सम्झौता भएका थिए।

तर पटक–पटक म्याद थपिँदासमेत निर्माण व्यवसायीले काम अघि बढाएनन्। मन्त्री घिसिङले केही समयअघि नै मातहतका निकायलाई काम नगर्ने र आयोजना अलपत्र पार्ने प्रवृत्तिमाथि कडाइ गर्न निर्देशन दिएका थिए। त्यसपछि सडक विभाग र उसको मातहतका कार्यालयहरूले रुग्ण ठेक्का पहिचान गरी कारबाही प्रक्रिया सुरु गरेका हुन्।

गत कात्तिक ११ गते सडक डिभिजन कार्यालय काठमाडौंले २५ निर्माण व्यवसायीसँग ‘ठेक्का किन नतोडिने?’ भनी स्पष्टीकरण मागेको थियो। तर प्राप्त जवाफ चित्तबुझ्दो नभएपछि कार्यालयले सार्वजनिक खरिद नियमावलीअनुसार ठेक्का समाप्त गरेको कार्यालय प्रमुख सुवोध देवकोटाले जानकारी दिए।

उनका अनुसार कानूनी व्यवस्थाअनुसार रद्द भएका ठेक्काका ठेकेदारलाई कालोसूचीमा राख्ने, कार्यसम्पादन जमानत र धरौटी रकम जफत गर्ने, पेश्कीको १० प्रतिशत ब्याजसहित असुल उपर गर्ने तथा बाँकी काम सरकारकै खर्चमा पूरा गर्न लाग्ने रकम सरकारी बाँकीसरह असुल गर्ने प्रक्रिया अघि बढाइने बताइएको छ ।

कार्यालयद्वारा जारी सूचनामा ठेक्काको म्याद सकिएको, नयाँ म्याद नथपिएको, निर्माण व्यवसायी लामो समयदेखि कार्यस्थलमै उपस्थित नभएको र निर्माण कार्य अत्यन्त धीमा र अधुरो रहेकाले सम्झौता स्वतः उल्लङ्घनमा परेको उल्लेख छ ।