पशुपतिनाथ क्षेत्र तीन दिनका लागि मासु, मदिरा र नशालु पदार्थ मुक्त क्षेत्र घोषित
Prime TV News ३ दिन अगाडि 
काठमाडौ । बालाचतुर्दशी पर्वको अवसरमा पशुपतिनाथ क्षेत्र तीन दिनका लागि मासु, मदिरा र सबै नशालु पदार्थबाट पूर्णतया मुक्त क्षेत्र घोषित गरिएको छ। स्थानीय प्रशासनले आजदेखि मंसिर ३ गतेसम्म लागू हुने गरी कडा प्रतिबन्ध लगाएको हो।
काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलका अनुसार धार्मिक पवित्रता, सांस्कृतिक मर्यादा र सुरक्षा व्यवस्थालाई ध्यानमा राख्दै पशुपतिनाथ परिसर तथा वरपरका चार किल्लाभित्र मासुजन्य वस्तु, रक्सी तथा अन्य नशालु पदार्थ उत्पादन, बिक्री, ओसार–पसार, भण्डारण र सेवन एकदमै निषेध गरिएको छ।
स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ९३० बमोजिम जारी गरिएको सूचनामा आदेश उल्लङ्घन गर्नेलाई प्रचलित कानुनअनुसार कडा कारबाही हुने चेतावनी दिइएको छ।
बालाचतुर्दशी पर्वको समयमा परिसरमा अशुद्धता फैलिने गतिविधि एकदमै अशोभनीय र पवित्र स्थलका लागि हानिकारक मानिने भएकाले यस्तो कठोर निर्णय आवश्यक भएको प्रशासनको भनाइ छ।














