त्रिवि मैदानमा आजदेखि नेपाल प्रिमियर लिगको दोस्रो संस्करण सुरु
Prime TV News ३ दिन अगाडि 
काठमाडौ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुँदैछ। पहिलोपटक फ्लड लाइट र प्यारापिट सुविधासहित उन्नत बनेको यो मैदानमा लिग आयोजना हुन लागेको हो।
नेपाल क्रिकेट सङ्घ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दका अनुसार प्रतियोगिताको उद्घाटन कार्यक्रम अपराह्न २ बजे हुनेछ भने उद्घाटन खेल ४ बजे सुरु हुनेछ। मङ्सिर २७ गतेसम्म चल्ने प्रतियोगितामा लिग चरण, तीन प्लेअफ र फाइनलसहित ३२ खेल समावेश छन्।
त्रिवि मैदानमा १० हजार दर्शक अट्ने प्यारापिट र रातिको खेलका लागि आवश्यक फ्लड लाइट व्यवस्था सम्पन्न भएपछि यो संस्करणले क्रिकेटप्रेमीमा बढ्दो उत्साह ल्याएको छ। उद्घाटन खेलमा साविक विजेता जनकपुर बोल्ट्सले काठमाडौँ गोर्खाजसँग प्रतिस्पर्धा गर्नेछ।
क्यानले आइतबार साँझ मात्र सहरी विकास मन्त्रालयमार्फत मैदानका संरचना औपचारिक रूपमा हस्तान्तरण पाएको थियो। मैदान स्तरोन्नति सम्पन्न भएपछि सबै खेल यही मैदानमा हुने भएका छन्।
यस संस्करणका विजेताले १ करोड १० लाख रुपैयाँ प्राप्त गर्नेछन्। उपविजेताले ५१ लाख, तेस्रो स्थानले २५ लाख र चौथो स्थानले १५ लाख रुपैयाँ पुरस्कार पाउनेछन्। क्यानले दैनिक ९ हजार ४५० टिकट बिक्री गर्ने जनाएको छ। उद्घाटन खेलका टिकट दुई दिनअघि नै सकिएका छन्।
शनिबारका लागि सामान्य टिकट ५०० रुपैयाँ र प्रिमियम १५०० रुपैयाँ निर्धारण गरिएको छ। लिग चरणमा टिकट दर क्रमशः ५०० र १००० रुपैयाँ हुनेछ। प्लेअफका लागि सामान्य १००० र प्रिमियम २००० रुपैयाँ तोकिएको छ। सिजनल टिकट १५ हजार रुपैयाँ छ।
यसपटक जनकपुर बोल्ट्स, सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स, विराटनगर किंग्स, चितवन राइनोज, काठमाडौँ गोर्खाज र लुम्बिनी लायन्स गरी आठ फ्रेन्चाइज टोली प्रतिस्पर्धामा छन्। क्यानले यस संस्करणबाट करिब ४० करोड रुपैयाँ आम्दानी गर्ने लक्ष्य राखेको छ।













