प्रतिनिधि सभा चुनाव सुरक्षाका लागि एकीकृत योजना स्वीकृत, म्यादी प्रहरी भर्ना गर्ने
Prime TV News ४ दिन अगाडि 
काठमाडौ । केन्द्रीय सुरक्षा समितिले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै एकीकृत निर्वाचन सुरक्षा योजना स्वीकृत गरेको छ।
गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा आइतबार सिंहदरबारमा बसेको बैठकले चारवटै सुरक्षा निकायका प्रतिनिधिहरू सम्मिलित कार्यदलले तयार पारेको प्रतिवेदन अनुमोदन गरेको हो।
गृह मन्त्रालयका प्रवक्ता सहसचिव आनन्द काफ्लेका अनुसार सुरक्षा योजनामा राजनीतिक गतिविधि, संवेदनशील क्षेत्र, सीमा सुरक्षासम्बन्धी चुनौती, सम्भावित घुसपैठ तथा जोखिम नियन्त्रणका उपाय समेटिएका छन्। उनका अनुसार सुरक्षा निकायबीच भूमिका र जिम्मेवारी स्पष्ट रूपमा विभाजन गरिएको छ।
समितिले निर्वाचनमा अवरोध पुर्याउने, हिंसा भड्काउने वा जनतालाई आतङ्कित पार्ने गतिविधिमाथि कडाइका साथ कानुनी कारबाही अघि बढाउने निर्णय गरेको छ। आवश्यकताअनुसार सेना परिचालनका विषयमा रक्षा मन्त्रालयमार्फत राष्ट्रिय सुरक्षा परिषद्मा सिफारिस गर्ने प्रक्रिया समेत अघि बढाइने भएको छ।
निर्वाचन सुरक्षा सुदृढीकरणका लागि सातै प्रदेशमा प्रदेशस्तरीय सुरक्षा गोष्ठी आयोजना गरिनेछ। मंसिर ९ गते लुम्बिनी प्रदेशबाट गोष्ठीको सुरुवात हुन लागेको मन्त्रालयले जनाएको छ।
यस्तै बैठकले आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनमा म्यादी प्रहरी भर्ना गर्ने निर्णय गरिएको छ । निर्वाचनका लागि करिव १ लाख ३० हजार म्यादी भर्ना गर्ने निर्णय भएको गृह मन्त्रालयले जनाएको छ ।













