राष्ट्रियसभा सदस्य निर्वाचन : आयोगले सम्पूर्ण कार्यतालिका सार्वजनिक
Prime TV News ४ दिन अगाडि 
काठमाडौ । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि विस्तृत कार्यतालिका सार्वजनिक गरेको छ। आयोगले आइतबार सार्वजनिक गरेको कार्यक्रमअनुसार आगामी माघ ११ गते राष्ट्रियसभा सदस्यको निर्वाचन हुनेछ।
कार्यतालिका अनुसार पुस १९ गते बिहान १० देखि ११ बजेभित्र मतदाता नामावलीको प्रारम्भिक प्रकाशन हुनेछ। त्यसपछि दाबी–विरोध तथा निवेदनको छानबिन गरी पुस २२ गते दिउँसो ३ देखि ४ बजे अन्तिम मतदाता नामावली प्रकाशित गरिनेछ।
पुस २३ गते बिहान १० बजेबाट दिउँसो ३ बजेभित्र उम्मेदवारले आफ्नो मनोनयन दर्ता गराउन सक्नेछन्। पुस २४ गते बिहान १० देखि दिउँसो ४ बजेसम्म मनोनयनविरुद्ध उजुरी दिन सकिने आयोगले जनाएको छ।
पुस २७ गते बिहान १० देखि दिउँसो १ बजेसम्म उम्मेदवारले मनोनयन फिर्ता लिन पाउनेछन्। सोही दिन दिउँसो १ देखि २ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ।
पुस २८ गते बिहान १० देखि दिउँसो १ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिन्ह सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमार्फत प्रदान गरिनेछ।
निर्धारित कार्यक्रमअनुसार माघ ११ गते बिहान ९ देखि दिउँसो ३ बजेसम्म सम्बन्धित मतदान केन्द्रमा मतदान प्रक्रिया सञ्चालन हुनेछ।
आयोगका अनुसार सम्पूर्ण तयारी निर्धारित समयसीमाभित्र अघि बढाइनेछ, र निर्वाचन व्यवस्थित, शान्तिपूर्ण तथा निष्पक्ष रुपमा सम्पन्न गरिने दाबी गरिएको छ।













