सुदन गुरुङको आह्वान: वैकल्पिक नागरिक शक्तिको आवश्यकता, चर्चित व्यक्तित्वलाई एकजुट हुन आग्रह
Prime TV News ४ दिन अगाडि 
काठमाडौ । जेनजी अभियानका अगुवा सुदन गुरुङले देशको समृद्धिका लागि वैकल्पिक नागरिक शक्तिको आवश्यकता रहेको भन्दै देशप्रेमी नेपालीहरूलाई एकजुट हुन आह्वान गरेका छन्।
उनले विशेषगरी चर्चित र प्रभावशाली व्यक्तित्वहरूलाई एक ठाउँमा एकत्रित हुन अनुरोध गर्दै सामाजिक सञ्जालमा अपिल गरेका छन्। गुरुङका अनुसार, पार्टीका सीमामा न अड्किन, देशको भविष्यका लागि एकजुट हुनु जरुरी रहेको वताएका छन् ।
उनले वालेन साह, रवि लामिछाने, कुलमान घिसिङ, हर्क साम्पाङ, सुमना श्रेष्ठ र सागर ढकाल जस्ता समाजका प्रतिष्ठित र लोकप्रिय व्यक्तित्वहरूलाई एकसाथ आउनका लागि आह्वान गरेका हुन् । “हामी सम्पूर्ण नेपाली जनताको एउटै चाहना छ, तपाईंहरू सबै एकै ठाउँमा सँगै उभिनुहोस्। यो बेला पार्टी र विचारधाराको सीमामा न अड्किएर हामीले देशको भविष्यको लागि काम गर्नुपर्ने आवश्यकता छ,” गुरुङले भने।
गुरुङले जेनजी अभियानको पहिलो चरण सफलतापूर्वक सम्पन्न भएको दाबी गरेका छन्। उनका अनुसार, जेनजीको पहलले ७ वटै प्रदेश, ७७ वटै जिल्ला, स्थानीय तह र वडास्तरसम्म एकजुटता ल्याएको वताए । उनले भने, “जेनजी अब हरेक तहसम्म पुर्याइएको छ। अब हाम्रो उद्देश्य सबैलाई एकत्रित गर्न र सबैको आवाजलाई एकजुट गर्नु हो।"
गुरुङले आगामी दिनमा यस अभियानलाई अझ प्रभावशाली बनाउन डिजिटल प्लेटफर्मको निर्माणमा ध्यान दिइरहेको जानकारी दिए । गुरुङले अभियानको दोस्रो चरणमा जनताको विश्वास गरेका सबै जिम्मेवार व्यक्तिहरूलाई एउटै स्थानमा ल्याउने लक्ष्य राखेको र देशको स्थिरता र समृद्धिकालागि नागरिक एकता र सहकार्यको महत्त्वलाई बुझाउने उल्लेख गरेका छन् ।













