दृष्टिविहीन महिला टी–२० विश्वकपमा नेपालले अस्ट्रेलियालाई आठ विकेटले हरायो
Prime TV News ४ दिन अगाडि 
काठमाडौ । भारतमा जारी दृष्टिविहीन महिला टी–२० विश्वकपमा नेपालले अस्ट्रेलियालाई आठ विकेटले हराएको छ। विश्वकपमा नेपालको यो दोस्रो जित हो।
पहिलो खेलमा नेपालले श्रीलङ्कालाई हराएको थियो। दोस्रो खेलमा भने भारतसँग पराजित भएको थियो। अस्ट्रेलियाले दिएको एक सय ३७ रनको लक्ष्य नेपालले १४ दशमलव ५ ओभरमा दुई विकेटको क्षतिमा पूरा गरेको हो।
नेपालका लागि विनिता सोमाइले अविजित ५६ रन बनाउँदा मनकेशी चौधरीले अविजित ४३ र सुस्मा तामाङले २२ रन थपिन । बलिङमा अस्ट्रेलियाकी कोर्टनी लुइसले एक विकेट हात पारिन्। टस जितेर पहिले ब्याटिङ रोजेको अस्ट्रेलियाले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा एक सय ३६ रन बनाएको थियो।
अस्ट्रेलियाका लागि कोर्टनी लुइसले ३१, जेनिफर पेरीले ३० र अमेलिया हर्टले २१ रन बनाइन । बलिङमा नेपालकी सुनिता भुजेलले एक विकेट हात पारेकी थिइन्। अस्ट्रेलियाका पाँच खेलाडी रन आउट भएका थिए। जितसँगै तीन खेलबाट चार अङ्क बनाएको नेपाल दोस्रो स्थानमा छ।













